• ८ जेठ २०८१, मङ्गलबार

दरबार सङ्ग्रहालयमा पर्यटक बढे

blog

पाल्पा, असार २५ गते । ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गएको छ । भारत, चीन र जापानसहित विभिन्न देशबाट सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको हो ।

यो सङ्ग्रहालयभित्र लुम्बिनी प्रदेशभित्रका विभिन्न जातजाति, भाषाभाषीले परम्परागत रूपमा प्रयोग गर्दै आएका घरेलु सामग्री प्रदर्शनीमा राखिएका छन् । यस्तै बाइसे–चौबीसे राज्य, सेन राज्य, नेपाल एकीकरणका ऐतिहासिक जानकारी, नेपाल–अङ्ग्रेज युद्धताका प्रयोग भएका घरेलु सामग्रीसमेत सङ्ग्रहालयभित्र राखिएको छ । 

विविध जाति, भाषा, इतिहास र भूगोलको तथ्य तथा जानकारी समेटेकाले उक्त सङ्ग्रहालय अवलोकनमा पर्यटक आकर्षित हुने गरेको सङ्ग्रहालय प्रमुख चन्द्र वलीले बताउनुहुन्छ । सङ्ग्रहालयभित्र मुख्य गरी मगर, थारू, खस आर्य, नेवार, कुमाल समुदायको परम्परागत वेशभूषा, कला र संस्कृति तथा रहनसहन झल्किने सामग्री राखिएका छन् । 

लुम्बिनी प्रदेश सरकारले पाल्पा दरबार सङ्ग्रहालयलाई प्रदेशकै नमुना बनाउने गरी हरेक वर्ष बजेट विनियोजन गर्दै आएको छ । प्रदेश सरकारले महìव दिएकै कारण पछिल्लो समय यो सङ्ग्रहालय पर्यटकको रोजाइमा परेको सङ्ग्रहालय सञ्चालन एवं व्यवस्थापन समितिका सदस्य चित्रवलीराम सुवालले जानकारी दिनुभयो । 

पाल्पा दरबार सङ्ग्रहालयको अवलोकनका लागि पछिल्लो आठ महिनामा २०८ जना सार्क मुलुकबाट पर्यटक आएका छन् । तीमध्ये भारतका सबैभन्दा धेरै पर्यटक छन् । यस्तै जापान, चीन, कोरियाबाट १०८ जना र नेपालको विभिन्न स्थानबाट २० हजार ८४५ जना अवलोकन गर्न आएका हुन् । यही अवधिमा देशका विभिन्न स्थानबाट सात हजार १३९ जना विद्यार्थीले सङ्ग्रहालयको अवलोकन गरेको टिकट काउन्टरकी कर्मचारी रोमा हिस्कीमगरले जानकारी दिनुभयो । 

दरबार सङ्ग्रहालयभित्र फरक शैलीमा स्थापना गरिएको सैनिक सङ्ग्रहालयले समेत पर्यटकलाई थप आकर्षित गरेको छ । सैनिक सङ्ग्रहालयभित्र तत्कालीन नेपाल–अङ्ग्रेज युद्ध ताकाका सामग्री, सेनाको इतिहास, सेनाप्रमुख, सेनाधिपति, हातहतियार, सेनाका पोसाक, थ्रीडी कक्षसमेत राखिएको छ । सेनाको गोरखदल गणले तयार गरेको सङ्ग्रहालयसमेत पर्यटकको रोजाइमा पर्ने गरेको छ । 

सङ्ग्रहालय अवलोकनमा प्रतिव्यक्ति विद्यार्थी प्रवेश शुल्क २०, स्वदेशी नागरिकलाई ५०, सार्क मुलुकका नागरिकलाई १५० र अन्य देशका नागरिकलाई २५० रहेको छ । कार्यालय प्रमुख वलीले टिकटबाट पछिल्लो आठ महिनामा १० लाख सङ्कलन भएको जानकारी दिनुभयो ।