• २२ मङ्सिर २०८२, सोमबार

बेथिति हटाउँदै सुशासन कायम गर्ने मुख्यमन्त्री यादवकाे प्रतिबद्धता

blog

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादव । तस्बिर प्रवीणकुमार शर्मा

प्रवीण कुमार शर्मा

रौतहट, मङ्सिर २२ गते । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशमा बेथिति रहेकाले बेथिति हटाउँदै सिस्टममा ल्याउने र सुशासन कायम गर्ने पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।

 नेपाली काङ्ग्रेस रौतहटद्वारा सोमबार गौरमा आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्नु हुँदै उहाँले मधेश प्रदेशमा चुनौतीको चाङ्ग रहेको बताउनुभयो ।

 हरेक चुनौतीलाई सामना गर्दै प्रदेशको विकासको लागि निरन्तर अगाडि बढ्ने उहाँले बताउनुभयो । विकास निर्माणका रोकिएका योजना अगाडि बढाउने देखि लिएर मधेश प्रदेशका नागरिकलाई अनुभूति हुने गरि नयाँ योजना, नयाँ रणनिति ल्याउने उहाँले बताउनुभयो ।

 मधेशका अधिकांश जनता कृषिमा निर्भर रहेकोले कृषिलाई मुख्य प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा वर्तमान सरकार दिन रात काम गरेर सकारात्मक प्रतिफल दिने मुख्यमन्त्री यादवले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अहिलेको सात दलिय गठबन्धन बलियो रहेको र गठबन्धन आउने निर्वाचन सम्म एकजुट रहने उहाँले दाबी गर्नुभयो । गठबन्धनको सरकार रहेकोले मन्त्रिपरिषद् बिस्तार मुख्यमन्त्री एक्लैले नगर्ने भएर सात दलीय गठबन्धनमा छलफल गरेर चाँडै टुङ्ग्याउने उहाँको भनाइ छ ।