• २१ मङ्सिर २०८२, आइतबार

विद्यालयमा एक लाख बढीको अक्षय कोष स्थापना

blog

पुरी परिवारले विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई रकम हस्तान्तरण गर्दै ।

प्रनिश गिरी

कुश्मा-पर्वत, मङ्सिर २१ गते । पर्वतको कुश्मा नगरपालिकास्थित पुरी परिवारले मृतक आमाको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोषको स्थापना गरेको छ । परिवारका सदस्यहरूले समाजसेवामा आमाको झुकावलाई निरन्तरता दिने उद्देश्यले मृतकको तेह्राैँ पुण्य तिथिको अवसरमा कोषको स्थापना गरेका हुन् ।

स्थानीय विद्यालयमा स्वर्गीय मातापिता देवेन्द्रकुमारी पुरी र करुणाराज पुरीको नाममा स्थापना गरिएको अक्षय कोषमा सुरुवाती रूपमा १ लाख ५१ हजार तीन सय २५ रुपियाँ जम्मा गरिएको छ ।  परिवारका अनुसार मृतक आमाको नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षय कोषको स्थापना गर्न विद्यालयलाई नगद रकम हस्तान्तरण गरेको हो । 

कोषबाट असहाय, आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयका प्रअ खड्कराज पुरीले बताउनुभयो। 

मृतक देवेन्द्र कुमारी पुरीका छोरा विनोद पुरीले आमाको नाममा शिक्षा क्षेत्रमा योगदान दिन पाउँदा आत्मसन्तुष्टि मिलेको बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वत समाजको संस्थापक तथा पर्वत यूके समाजको पूर्व वरिष्ठ उपाध्यक्ष रहिसक्नु भएका छोरा पुरीले भन्नुभयो, "आमाले जीवनभर समाजसेवामा देखाउनु भएको समर्पणलाई निरन्तरता दिन यो कोष स्थापना गरेका हौं । यसबाट विद्यार्थीहरुले दीर्घकालीन लाभ लिने छन् ।" विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम नेपालीले समाजबाट प्राप्त यस्ता सहयोगले शैक्षिक गुणस्तर वृद्धि गर्न ठुलो योगदान पुग्ने धारणा राख्नु भयो । अध्यक्ष नेपालीले भन्नुभयो, "विद्यालय स्थापना कालमै सहयोग गरेको परिवारबाट अक्षय कोष स्थापना हुनुले विद्यार्थीलाई प्रेरणा र सहयोग दुवै प्रदान गरेको छ ।"

स्थानीय अभिभावकका अनुसार मृतक आमाले समुदायमा सहयोगी, सामाजिक तथा परोपकारी योगदान पुर्‍याउँदै आउनु भएको थियो । उहाँकै सम्झनालाई संस्थागत बनाउन परिवारले उठाएको कदम प्रति स्थानीयबासीले प्रशंसा व्यक्त गरेका छन् । विद्यालयले आगामी वर्षदेखि कोष व्यवस्थापनका लागि विशेष कार्यविधि लागु गर्दै पारदर्शी प्रणालीबाट सहयोग वितरण गरिने जनाएको छ । पालिकाको वडा ७ मा अवस्थित दलितबस्तीमा रहेको विद्यालयमा पढ्ने विधार्थीहरू समेत दलित जातिका नै बढी सङ्ख्यामा छन् ।