• २१ मङ्सिर २०८२, आइतबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

blog

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर २१ गते । बर्दिबास–जलेश्वर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका–८ करमटोकीका २७ वर्षीय सुरेश चौधरीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जँदै गरेको चौधरी सवार म.प्र.०३–०३९ प २९७८ नम्बरको मोटरसाइकल बर्दिबास–१४ स्थित औरही रोड क्षेत्रमा रोकी राखिएको ना.१ ख ७०३४ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

टाउको, अनुहार र छातीमा गहिरो चोट लागेको चौधरीलाई प्रहरीले तुरुन्तै उद्धार गरी बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा भर्ना गरेको थियो । अवस्था गम्भीर बनेपछि चिकित्सकको सिफारिसमा जनकपुरस्थित जानकी मेडिकल अस्पताल (रमदैयाँ) लगिएकोमा हिजो साँझ करिब सवा ७ बजेतिर उपचारको क्रममा चौधरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

ट्राफिकसहित घटनास्थल पुगेको प्रहरी सहायक निरीक्षक राकेशकुमार मण्डलको टोलीले दुर्घटनामा संलग्न काभ्रे नवबुद्धका ३८ वर्षीय ट्रक चालक भीमबहादुर तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाएको बर्दिबास प्रहरीले जनाएको छ ।