प्रवीणकुमार शर्मा
रौतहट, मङ्सिर २१ गते । रौतहटमा शनिबार गरिएको राजमार्ग अवरुद्ध प्रहरीले बल प्रयोग गरेर सुचारु गराएको छ ।
रौतहटको गौर-चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत चन्द्रपुर -६ मोतियाही पुल नजिक शुक्रबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु र ३ जना घाइते भएको घटनामा पीडित पक्षद्वारा गरिएको राजमार्ग अवरुद्ध स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालयको टोलीले ३ घण्टापछि सुचारु गराएको छ ।
पीडित पक्षले क्षतिपूर्तिसहित कडा कारबाहीका लागि शनिबार चन्द्रनिगाहपुर स्थित इलाका प्रहरी कार्यालय नजिक पूर्वपश्चिम राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरि प्रदर्शन गरेका थिए ।
प्रहरीले अबरुद्ध बाटो खुलाउन माइकिङ् गर्दै भिडलाई तितरबितर पारेर अवरुद्ध राजमार्गमा आवतजावत सुचारु गराएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनु भयो ।
पीडित पक्षद्वारा गरिएको प्रदर्शन पछि चन्द्रपुरको अवस्था तनावग्रस्त बनेको थियो । बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक वृन्दावन नगरपालिका -२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकलमा सवार मृतक पटेलका तीन जना छोराछोरी घाइते भई अहिले वीरगञ्जमा उपचाररत छन्। बस र बस चालक चन्द्रपुर -८ का ४५ वर्षीय अमृतबहादुर बिक इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा छन् ।