• २१ मङ्सिर २०८२, आइतबार

पहाडका तरकारीः मधेशको भोजदेखि भान्सासम्म

blog

बर्दीबास बजारमा पहाडमा उत्पादिन फर्सी विक्री गर्दै रामेछापका व्यापारी । तस्विर:रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर २१ गते । मधेशका बजारमा पहाडमा उत्पादित हरियो तरकारी, विशेषगरी फर्सीको माग उल्लेख्य रूपमा बढेको छ । 

बीपी राजमार्ग सुचारु भएपछि रामेछाप र सिन्धुलीमा उत्पादन हुने झण्डै ९–१० प्रकारका मौसमी तरकारी नियमित रूपमा मधेश झर्न थालेका छन् ।

 यसबीच पहाडमा उत्पादित फर्सीको सबैभन्दा बढी कारोबार भएको व्यापारीको भनाइ छ । पहाडबाट सहज आपूर्तिले बजार मूल्य स्थिर राख्न मद्दत गरिरहेको छ भने यसले भारतबाट हुने आयातलाई क्रमशः प्रतिस्थापन गर्ने सङ्केत देखाएको छ । 

पहाड र मधेश बीचको कृषि व्यापार विस्तार हुन थालेपछि दुवै भेगका किसान र व्यापारी लाभान्वित हुन थालेका छन् । 

पहाडको तरकारीले मधेशको भोजदेखि भान्सासम्म पहुँच बढाएको उपभोक्ताको भनाइ छ ।रामेछाप नगरपालिका–८ बादीका ६३ वर्षीय तरकारी व्यापारी मनकाजी हायु पहाडमा उत्पादन हुने फर्सी सङ्कलन गरी मधेशका बजारमा कारोबार गर्दै आउनुभएको छ । 

रामेछापको भालुखोर, रामपुर, खानीडाँडा, बादी, मुगान, ल्याङल्याङ जस्ता विकट पहाडी बस्तीदेखि फर्सी सङ्कलन गरी उहाँले बर्दीबास, ढल्केबरलगायत मधेशका बजारमा पुर्‍याउनु हुन्छ । 


कारोबार बढ्दै गएपछि छोरा बाबुरामले पनि साथ दिनुभएको छ । मधेशका हाटबजार पुगेर व्यापार गर्ने उहाँको गाडी (पिकअप) नै चलायमान पसल बनेको छ ।

हायुका अनुसार शनिबारसम्म उहाँले बर्दीबास र ढल्केबरका बजारमा ५५ पिकअप बराबर करिब १ लाख ६२ हजार किलो  फर्सी बिक्री गरिसकेको बताउनुभयो । 

हायुले भन्नुभयो,“मधेश झारेपछि नबिक्ला भन्ने पीर हुँदैन, सय–पचास किलो त बाटोमै बेचिन्छ ।” स्थानीय उपभोक्ताका अनुसार मीठो स्वाद, धार्मिक– सांस्कृतिक महत्व र किफायती मूल्यका कारण मधेशमा पहाडे फर्सीको खपत बढेको हो ।

बर्दीबासका तरकारी व्यापारी रामचन्द्र महतोका अनुसार पहाडबाट झरेका उत्पादनले मधेशका बजारमा हरियो तरकारीको भाउलाई सन्तुलित पार्ने काम गरेको छ । 

महतोले भन्नुभयो,“मधेशका विवाह, भोजभतेर तथा परम्परागत भोजनमा फर्सी अनिवार्य रूपमा प्रयोग हुने भएकाले माग स्थिर रहने प्रमुख कारण हो । यो कारणले पनि अहिले मधेशको भन्दा पहाडका तरकारी व्यापारीको कारोवार फस्टाएको छ ।”


बर्दीबास बजारस्थित हायुको घम्ती पसलबाट छोरीको बिहेको लागि १३ किलो फर्सी किन्नुभएकी बर्दीबास ९ विजलपुराकी ६५ वर्षीया सावित्री महतोले पहाडबाट आएको तरकारीले भोजदेखि भान्सासम्मको स्वाद बढाएको बताउनुभयो ।   

 महोत्तरीमा वार्षिक करिब ३ हजार मेट्रिक टन फर्सी खपत हुने अनुमान छ । कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द रायका अनुसार महोत्तरीमा करिब ३५० हेक्टर क्षेत्रफलबाट वार्षिक पाँच हजार छ सय मेट्रिक टन फर्सी उत्पादन हुन्छ ।

यद्यपि स्थानीय उत्पादनले माग पूरा नहुदा भारतबाट ठूलो परिमाणमा फर्सी आयात हुँदै आएको छ ।जलेश्वर भन्सारस्थित प्लान्ट क्वारेन्टाइन अधिकृत किशोर यादवका अनुसार आर्थिक वर्ष ०८१÷८२ मा भारतबाट एक करोड २२ लाख मूल्य बराबरको ५१२.४ मेट्रिक टन फर्सी आयात भएको थियो । 

खुला सीमाबाट विना भन्सार आयात हुने फर्सीको लेखाजोखा छैन । स्थानीय व्यापारका अनुसार पहाडे फर्सीको बढ्दो माग र कारोबारले भारतबाट आयातित फर्सीलाई प्रतिस्थापन गर्ने सङ्केत देखाएको छ । 

हायुले भन्नुभयो, “हामी बर्दीबासदेखि १०५ किलोमिटर दुरीमा रहेको पहाडको उत्पादन मात्र यता ल्याउँदैनौँ । तराईमा उत्पादित गोलभेंडा, परवल, खोर्सानी, सहिजन, प्याज लगाएतका मौसमी तरकारी र फलफूल पनि पहाडसम्म पुर्‍याएर व्यापारलाई सन्तुलित बनाएका छौं । पहाड र मधेशको व्यापारमा पुलको काम गरेका छौं । दुवैको भावनालाई जोडेका छौं ।”