गत वर्ष साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराएको खेललाई नेपाली महिला फुटबलको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन मानिएको छ । १० खेलाडीमा सीमित भएर निर्धारित समयको खेल १–१ ले बराबरीमा सकाएपछि टाइब्रेकरमा नेपालकी गोलकिपर अञ्जना रानामगरले दर्शनीय प्रदर्शन गरेर दशरथ रङ्गशालामा खचाखच दर्शकलाई खुसी बनाएकी थिइन् । गत हप्ता भारतविरुद्ध नै सिक्किममा भएको मैत्री खेलमा अञ्जनाले त्यस्तै झल्को दिइन् । सो खेलमा पनि अञ्जनाले टाइब्रेकरमा दुई पेनाल्टी प्रहार रोकेपछि नेपालले पुनः भारतलाई हरायो ।
अञ्जनालाई पेनाल्टीमा बल रोक्ने विशिष्ट खुबी भएको गोलकिपर मानिन्छ । राष्ट्रिय टिममा पहिलो रोजाइमा नखेल्दा पनि खेल पेनाल्टी सुटआउटमा जाने स्थितिमा हरेक प्रशिक्षकले अञ्जनामाथि नै विश्वास गरेको इतिहास छ । यसै गरी उनी निकै मेहनती खेलाडी पनि मानिन्छिन् ।
अञ्जना रानामगर नेपालकी चर्चित महिला फुटबलरमध्ये एक हुन् । सामाजिक सञ्जालमै पनि उनलाई लाखौँले पछ्याउने गर्छन् । घरेलु फुटबलमा उनी एपिएफमा आबद्ध छिन् । त्रिभुवन आर्मी क्लबको गोलपोस्टमा जिम्मेवारी समालेपछि अञ्जना एपिएफमा स्थानान्तरण भएकी हुन् । विशेषतः एपिएफले एएफसी महिला च्याम्पियन्स लिगका लागि अञ्जनालाई टिममा ल्याएको थियो ।
रौतहटको चन्दनिगाहपुरको बेल्डी गाउँमा जन्मेकी अञ्जना पहिले रौतहटले नेपाल महिला फुटबलमा धेरै खेलाडी पठाएको छ । अहिलेको राष्ट्रिय टिममा पनि रश्मिकुमार घिसिङ, समीक्षा घिमिरे, निशा थोकर रौतहटकै उत्पादन हुन् ।
अञ्जनाका अनुसार उनलाई फुटबलर बनाउने सपना उनका आमाबुवाको हो । १० वर्षकै उमेरमा अञ्जनाले फुटबल खेल्न थालिन् । विशेषतः आमाको जिद्दीले फुटबल खेलेको भन्छिन् उनी । “सुरुमा मन नलागी खेलेँ । त्यसपछि खेल्दै जाँदा फुटबलमा रुचि जाग्यो र पछि त राष्ट्रिय फुटबलर बनेर आमाबुवाको सपना पूरा गर्नु पर्छ भन्ने सोचाइ पनि आयो,” अञ्जना भन्छिन् ।
कोकाकोला कप अन्तरविद्यालय प्रतियोगितामा दुर्गा माध्यमिक विद्यालयलाई च्याम्पियन बनाएपछि अञ्जनाको वास्तविक फुटबल यात्रा सुरु भयो । सो प्रतियोगितामा अञ्जना सर्वाेत्कृष्ट गोलकिपर बनेकी थिइन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कारण एन्फाले ताजकिस्तानमा हुने एएफसी यु–१४ प्रतियोगिताका लागि अञ्जनालाई टिममा समावेश गरेको थियो ।
त्यसपछि उनले नियमित रूपमा रौतहटको टिमबाट खेल्न थालिन् । रौतहटमा छँदा स्वर्गीय शेरबहादुर दर्मालीको प्रशिक्षकत्वमा अञ्जनाको फुटबल खेल्ने क्षमता विकास भयो । यसै गरी चित्र दर्लामी र नुरराज काफ्ले पनि अञ्जनाको सुरुका दिनको फुटबल प्रशिक्षक हुन् ।
२०७३ सालमा काठमाडौँमा भएको प्रधानसेनापति कपमा मध्यमाञ्चलकी प्रमुख गोलकिपर घाइते भएपछि अञ्जनाले खेल्ने मौका पाइन् । आर्मी टिमलाई सेमिफाइनलमा टाइब्रेकरमा हराएर मध्यमाञ्चल फाइनलमा पुग्यो । मात्र १४ वर्षकी अञ्जनाले खेलको पेनाल्टी सुटआउटमा तीन पेनाल्टी प्रहार विफल बनाएकी थिइन् । त्यसपछि त आर्मी टिमको नजरमा अञ्जना परिन् । जुन अञ्जनाको फुटबल जीवनमा निर्णायक मोड बन्यो ।
अञ्जनाले राष्ट्रिय टिममा स्थान बनाउन पनि धेरै कुर्नु परेन । अञ्जना १४ वर्षको उमेरमै राष्ट्रिय टिममा परेकी हुन् । जुन चानचुने कुरा थिएन । त्यसपछि उनी अहिलेसम्म राष्ट्रिय टिमबाट अलग भएकी छैनन् । सानै उमेरकी भएकाले उनले लामो समयसम्म ‘कान्छी फुटबलर’ को उपनाम पनि पाइन् ।
उनले एन्फा कम्प्लेक्समा मलेसियाविरुद्धको खेलमा स्थानापन्न गोलकिपरका रूपमा मैदान छिरेर अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेकी थिइन् । सन् २०२१ मा १९ वर्षीय अञ्जनाले बङ्गलादेशमा भएको यु–१९ महिला साफ च्याम्पियनसिपमा देशको नेतृत्व गर्ने अवसर पाइन् । सो प्रतियोगिताबाट उनले आफ्नो प्रदर्शनका कारण अझ धेरै समर्थक कमाइन् । प्रतियोगितामा अञ्जनाले उत्कृष्ट गोलकिपिङ गरेकी थिइन् ।
अहिले नेपाली महिला टिममा एन्जिला सुब्बा र अञ्जनाबीच पहिलो रोजाइको गोलकिपर बन्ने स्वस्थ प्रतिस्पर्धा छ । जुन नेपाली महिला फुटबलका लागि राम्रो पक्ष पनि हो । लामो समय राष्ट्रिय टिमको बेन्चमा रहेपछि अहिले उनले पहिलो रोजाइमै खेल्ने अवसर पनि पाउन थालेकी छन् । २३ वर्ष पुगेकी अञ्जनासँग अहिले पनि उमेर मात्र होइन अनुभव पनि साथमा छ ।
–प्रजित शाक्य
–युवामञ्च