रवीन्द्र उप्रेती
बर्दीबास, मंसिर २१ गते । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट रिभल्भरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बरामद रिभल्भर ‘होम मेड’ रहेको सशसत्रले जनाएको छ । बर्दीबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनीका सशस्त्र नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकालका अनुसार नियमित चेकजाँचका क्रममा भारतको बिहार, सीतामढी–पटदौरा ग्राम पञ्चायत सिराहीपट्टीका २६ वर्षीय सरोजकुमार कुर्मीलाई पक्राउ गरिएको हो ।
हलखोरीस्थित सशस्त्रको बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक सुनिलकुमार दासको कमान्डमा रहेको गस्तीले नेपाल(भारत सीमाक्षेत्रस्थित मरुवाहीबाट हलखोरीतर्फ आउँदै गरेका दासलाई अवैध हतियारसहित शनिवार साँझ नियन्त्रणमा लिइएको थियो ।
कुर्मी सवार रहेको बीआर ०६ एवाई ६१७२ नंको मोटरसाइकल रोकेर तलासी गर्दा मोटरसाइकलको सिटमुनि लुकाइराखिएको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोली बरामद भएको ढकालले जानकारी दिनुभयो ।
पक्राउ परेका भारतीय नागरिक कुर्मीलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।