• २१ मङ्सिर २०८२, आइतबार

मध्यरातसम्म सेवा प्रदान

blog

हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर २१ गते । जिल्लास्थित सामाजिक विकास कार्यालयले मध्यरातसम्म आफ्नो सेवा प्रदान गर्ने गरेको छ । चालु आवमा सञ्चालन गरिने धेरै योजनाको पेस्की भुक्तानी दिने काम गर्नु परेको र सेवाग्राहीको चाप बढी भएपछि राति १२ बजेसम्म सेवा दिने गरेको हो । 

एक जना प्राविधिक जनशक्तिका भरमा पनि कार्यालयमा कामको चाप बढी राति १२ बजेसम्म काम गरेर सेवाग्राहीलाई सेवा प्रदान गरिएको सामाजिक विकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहले बताउनुभयो । ती योजनाको सम्झौता गर्ने कार्य सम्पन्न भएकाले अब नियमानुसार पेस्की रकम भुक्तानी गर्नुपर्ने हुँदा कामको चाप बढेको छ ।

कार्यालयले निर्धारित मितिभन्दा केही दिनअगाडि नै सबै योजनाको सम्झौता गरेको थियो । अब मङ्सिरभित्रै सबै योजनाका लागि पेस्की भुक्तानी दिइसक्ने लक्ष्य कार्यालयको रहेको र त्यसलाई पूरा गर्न अतिरिक्त समयमा काम गर्नु परेको उहाँले जनाउनुभयो । 

मङ्सिर दोस्रो हप्ताभित्र कार्यालयले सबै योजना कार्यान्वयनमा ल्याएको थियो । यस वर्ष १८ वटा पूर्वाधारका योजना ठेक्कापट्टाबाट र ४८ वटा योजना उपभोक्ता समितिसँग सम्झौता भएर काम सुरु भएको छ । यसबाट यो वर्ष निर्माण गर्ने शतप्रतिशत योजना कार्यान्वयन चरणमा पु¥याएको छ । यी योजना सम्पन्न गर्नका लागि २० करोड १५ लाख रुपियाँ विनियोजित गरिएको छ । योजनाको लागत न्यूनतम १५ लाखदेखि अधिकतम ९० लाख रुपियाँसम्मका छन् ।

योजनाहरू विद्यालय भवन निर्माण, घेरबार, खेल मैदान निर्माण, क्याम्पस भवन मर्मत, पत्रकार महासङ्घको भवन निर्माण, सुधारिएको घट्ट, वडा भवन निर्माणलगायत रहेका छन् । आगामी जेठ दोस्रो हप्ताभित्र सबै योजनाको कार्य सम्पन्न गरेर असोजमा केही नमिलेका काम मात्र गर्ने लक्ष्य कार्यालयले राखेको छ ।