सिराज खान
नेपालगन्ज, मङ्सिर २१ गते । नेपालगन्जमा शनिवार सम्पन्न भएको आठौँ राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिताको उपाधि काभ्रेका अच्युत कृष्ण खरेलले जित्न सफल हुनुभएको छ ।
उहाँले ३६ किलोमिटरको एमटीबी खुल्ला साइकल दौडको दूरीलाई एक घण्टा दुई मिनेट ४० सेकेन्डमा पार गरेर २५ हजार रुपियाँ नगद पुरस्कारसहितको सो उपाधि जित्न सफल हुनुभएको हो ।
सोही प्रकारले नेपाली सेनाका मुकेश थारुले उक्त दुरीलाई एक घण्टा दुई मिनेट ५७ सेकेन्डमा पार गरेर १५ हजार नगदसहित दोस्रो तथा बाँकेका देव बोहराले सो दूरीलाई एक घण्टा तीन मिनेट तीन सेकेण्डमा पार गरेर तेस्रो हुँदै १० हजार रुपियाँ नगद प्राप्त गर्नुभयो ।
यसैगरि एमटीबी खुल्ला भेट्रानतर्फको २५ किलोमिटर दुरीको साइकल दौडमा बाँकेका दिपक मल्ल प्रथम, बाँकेकै अशोक दीक्षित द्वितीय र बाँके कोहलपुरका थोमेस बहादुर बोहोरा तृतीय हुनुभयो ।
उहाँहरूले क्रमश १५ हजार, १० हजार र सात हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । सोही प्रकारले १६ किलो मिटरको महिलातर्फको एमटीबी खुल्ला साइकल दौडमा बाँकेका ऐस्से श्रेष्ठ प्रथम, बाँकेकै सिता सार्कि दोस्रो र बर्दियाका निशा थारु तेस्रो हुनुभयो ।
उहाँहरुले क्रमशः २० हजार, १० हजार र सात हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । यस्तै महिलातर्फको १६ किलोमिटरको साधारण साइकल दौडमा बाँकेका सुमन बर्मा, समिता थारु र मिना कुमारी थारुले क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदै १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार जित्नुभयो ।
सोही प्रकारले पुरुषतर्फको २५ किलोमिटरको साधारण साइकल दौडमा बाँकेका बिनोद यादव, जुगल थारु र लिखन प्रासाद थारुले क्रमशः प्रथम, द्धितिय र तृतिय हुँदै १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार जित्नुभयो ।
प्रतियोगितामा देशभरिका १३३ जना साइक्लिङ गर्ने खेलाडीहरूको सहभागिता रहेको थियो । आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले प्रतियोगिताका लागि नेपालगन्ज उपमहानगरपालिकाले दुई लाख ७५ हजार रुपियाँको सहयोग गरेको भएपनि प्रतियोगितामा तीन लाख रुपियाँ भन्दा बढी खर्च भएको जानकारी दिनुभयो ।