• २१ मङ्सिर २०८२, आइतबार

सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका

blog

सुर्खेत समाचारदाता

सुर्खेत, मङ्सिर २१ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई यसै वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्ने भएको छ । स्वयंसेविकाले पनि कोषमा जोड्न माग गर्दै आएकाले नगरपालिकाले यसै आर्थिक वर्षभित्र उनीहरूलाई कोषमा जोड्ने गृहकार्य भइरहेको जनाएको छ । 

२२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा शुक्रबार वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा कार्यवाहक नगरप्रमुख नीलकण्ठ खनालले यसै वर्षदेखि स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

यसका साथै नगरपालिकामा कार्यरत अस्थायी तथा करारका कर्मचारीलाई पनि कोषमा जोडिने उहाँको भनाइ छ । उहाँले स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको ठुलो योगदानको स्मरण गर्नुभयो । 

स्वास्थ्य सेवा निर्देशनालयका नर्सिङ प्रशासन मानकुमारी गुरुङ, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख करुणा भट्टराई, वडा नं. १ का वडाध्यक्ष दिनेश खत्रीले स्वयंसेविकाबिना सरकारका स्वास्थ्य कार्यक्रम सफल हुन नसक्ने बताउनुभयो । उहाँले स्वयंसेविकाको योगदान अझै गर्नुपर्ने सुझाव दिनुभयो । 

स्वास्थ्य स्वयंसेविका भीमा रोकाय रिजालले स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, बिदाइ हुने बेला एकमुष्ट नगद एक लाख रुपियाँ प्रदान गर्नुपर्ने, कामको मूल्याङ्कन गर्नुपर्ने माग राख्नुभयो । 

वीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडामा २० वटा आधारभूत स्वास्थ्य केन्द्र छन् । जसमा नगरभित्र १७८ जना स्वयंसेविका रहेको नगरपालिकाका नगर स्वास्थ्य शाखा संयोजक भूपेन्द्रदेव गिरीलेजानकारी दिनुभयो ।