गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २१ गते । अन्नपूर्ण न्युरोलोजिकल एलायन्स साइन्सेजमा कार्यरत डा. वसन्त पन्तले स्नायु विज्ञान अन्तर्गत आधुनिक न्युरो चिकित्सा, आधुनिक विज्ञान तथा नवप्रवर्तन उपचार प्रविधि विकासमा उल्लेखनीय योगदान पु¥याउनुभएको छ । यही योगदानबापत नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले यस वर्षको दुई लाख राशि पुरस्कारको कुलपति राष्ट्रिय प्रवर्तन पुरस्कार डा. पन्तलाई प्रदान गरेको छ । उहाँ मात्र होइन, प्रतिष्ठानले विज्ञान, प्रविधि क्षेत्रमा प्रशंसनीय काम गरेका २८ जना व्यक्ति तथा संस्थालाई विभिन्न पुरस्कार, सम्मान र कदरपत्र प्रदान गरेको छ ।
प्रतिष्ठानको ४३ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कृत गरिएको हो । प्रतिष्ठानले २०४२ सालदेखि विभिन्न व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ । यो वर्ष विभिन्न १३ वटा विधामा पुरस्कार प्रदान गरिएको छ ।
यो वर्षको विज्ञान तथा प्रविधि पुरस्कार प्राडा सुबोध शर्माले प्राप्त गर्नुभएको छ । उहाँ काठमाडौँ विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँले जलीय जीवलाई जैविक सूचकका रूपमा प्रयोग गर्दै हिमालय क्षेत्रका नदी तथा तालको गुणस्तर मूल्याङ्कनमा महत्वपूर्ण योगदान पु¥याउनुभएबापत उक्त पुरस्कार प्रदान गरिएको हो । यस्तै विज्ञान पुरस्कारबाट डा. रमेशराज पन्त सम्मानित हुनुभयो । दार्चुलाका पन्त वन तथा वातावरण विभाग त्रिभुवन विश्वविद्यालय कार्यरत हुनुहुन्छ । उहाँले जलस्रोत व्यवस्थापन, हाइड्रो, पर्यावरणीय प्रणालीमा महत्वपूर्ण योगदान पु¥याउनुभएको भन्दै सम्मान गरिएको हो ।
सूचना प्रविधिमा महत्वपूर्ण योगदान पु¥याएबापत काठमाडौँ विश्वविद्यालयमा कार्यरत प्राडा सुधन झाले प्रविधि पुरस्कार पाउनुभएको छ । प्रत्येक वर्ष विज्ञान तथा प्रविधिका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएबापत ४० वर्ष ननाघेका युवालाई प्रदान गरिने विज्ञान तथा युवा पुरस्कार यो वर्ष डा. सुषमा पाण्डेलाई प्रदान गरियो । उहाँ अन्नपूर्ण अनुसन्धान केन्द्र काठमाडौँमा हुनुहुन्छ । यस्तै गहुँबालीमा सुक्खा र उच्च ताप सहन सक्ने नयाँ जातको विकासमा योगदान दिएबापत डा. मुक्तिराम पौडेललाई पुरस्कार प्रदान गरिएको छ । डा. निरोज दाहाल, डा. सागर अर्याल, विपिन्द्र पाण्डे पनि पुरस्कृत हुनुभयो । यस्तै महिला विज्ञान तथा प्रविधि पुरस्कार डा. सोनी बरालले प्राप्त गर्नुभयो । यसै गरी संस्थागततर्फ नेपाल गणित समाज र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलाई पुरस्कृत गरिएको छ । यस्तै विज्ञान प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी कमला तामाङ पाख्रिनलाई प्रदान गरियो । यसै गरी दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कारबाट छात्रातर्फ सुजा महर्जन र छात्रतर्फ हरि अछामीलाई पुरस्कृत गरिएको छ । इन्द्रबहादुर कटुवाल कृषि पुरस्कारबाट डा. मदनराज भट्टलाई प्रदान गरिएको छ । मोहनध्वज बस्नेत प्रविधि पुरस्कारबाट नेपाल सौर्य विद्युत् उत्पादक सङ्घले प्राप्त गरेको छ ।
भुवनेश्वर प्रविधि पुरस्कार दिक्तेल मझुवागढी नगरपालिका खोटाङलाई प्रदान गरिएको छ । बालकृष्ण श्रेष्ठ प्रविधि पुरस्कार डा. छवि मिश्रा र विष्णुप्रसाद देवकोटालाई प्रदान गरिएको छ ।
यसै गरी कदरपत्रबाट पनि विभिन्न व्यक्ति सम्मानित हुनुभएको छ । कदरपत्रबाट सम्मानित हुनेमा रविलक्ष्मी चित्रकार, उषा बुढाथोकी, हिक्मतराज जोशी र डा. शुभनारायण महतो हुनुहुन्छ । यस्तै चिकित्सा विज्ञानबाट रेडियोलोजिस्ट प्राडा सुनील प्रधान सम्मानित हुनुभएको छ । सम्मानित हुनेको तर्फबाट डा. सुबोध शर्माले मन्तव्य राख्नु भएको थियो । यसै गरी नास्टमा कार्यरत कर्मचारीलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मान पाउनेमा डा. सुरेशकुमार ढुङ्गेल, डा. डिगेन्द्र खड्का, डा. रामचन्द्र पौडेल हुनुहुन्छ ।
बजेट बढाउनु पर्छ : मन्त्री पुन
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानको ४३ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञान प्रविधिको अनुसन्धानमा बजेट बढाउनुपर्ने बताउनुभएको छ । मन्त्री पुनले विज्ञान प्रविधि क्षेत्रमा बजेट बढाउन सके देशको विकास हुने बताउनुभयो ।
विकसित देशमा औद्योगिक क्रान्तिसहित विज्ञान प्रविधि क्षेत्रमा फड्को मारेको भन्दै नेपालमा विज्ञान, प्रविधिको क्षेत्रमा कुनै प्रगति हुन नसकेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राडा दिलीप सुब्बाले पहिलेको तुलनामा प्रतिष्ठानले उपलब्धिमूलक काम गरेको बताउनुभयो ।