• १२ असार २०८१, बुधबार

राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ नतिजा सार्वजनिक

ठूला औद्योगिक प्रतिष्ठान २३ प्रतिशतले वृद्धि

blog

काठमाडौं, असार २४ गते । नेपालमा रहेका औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ४० प्रतिशतले मात्रै उत्पादन क्षमताको पूर्ण उपयोग गर्ने गरेको केन्द्रीय तथ्याङ्क विभागको एक सर्वेक्षणले देखाएको छ । तथ्याङ्क विभागले शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो बताएको हो ।

विभागको सर्वेक्षणले औद्योगिक क्षेत्रका चार औद्योगिक प्रतिष्ठानमध्ये ३९.९ प्रतिशत उद्योग प्रतिष्ठानहरुले मात्रै पूर्ण उत्पादन क्षमता गरेको देखाएको छ । १८.७ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९, २९.१ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ५०.७४, १०.३ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५.४९ र बाँकीले उत्पादन क्षमताको २५ प्रतिशतभन्दा कम उत्पादन क्षमता उपयोग गरेको विभागका निर्देशक विनोदशरण आचार्यले बताउनुभयो ।

उहाँले साना उत्पादनशील औद्योगिक प्रतिष्ठानहरुमा १० जनाभन्दा कम व्यक्ति संलग्न भएकामध्ये करिब ३४ प्रतिशतले मात्र ऋण लिएको पाइएको जानकारी दिनुभयो ।  तीमध्ये ६० प्रतिशत साना उद्योग तथा प्रतिष्ठानहरुले भने ऋण नलिएको र बैंकिङ प्रणालीभन्दा बाहिर रहेको निर्देशक आचार्यको भनाइ छ ।

सर्वेक्षणअनुसार ठूला औद्योगिक प्रतिष्ठानहरु २३ प्रतिशतले बढेको देखाएको छ । औद्योगिक प्रतिष्ठानहरुमा करिब छ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ति रहेको तथ्याङ्क सर्वेक्षणले देखाएको छ ।

त्यस्तै, सर्वेक्षणको नतिजाअनुसार यस अवधिमा नेपालमा उद्योगको सङ्ख्या ६० हजार १८५ वटा पुगेको निर्देशकले बताउनुभयो । उहाँले ६० हजारमध्ये खानी तथा उत्खनन् ३५६, औद्योगिक उत्पदान उद्योग ६५ हजार ६११, विद्युत सेवा ९९४ र पानी, फोहोरलगायत क्षेत्रमा काम गर्ने दुई हजार २२४ उद्योग रहेको औंल्याउनुभयो ।

नेपालमा भएका चारवटा औद्योगिक प्रतिष्ठान उद्योगहरुमा चार लाख ९१ हजार २२७ जना मानिसले रोजगारी पाएका छन् । जसमा खानी तथा उत्खनन् क्षेत्रमा छ हजार ४८५, औद्योगिक उत्पादन उद्योग चार लाख ४४ हजार ९६४, विद्युत सेवा २१ हजार ५९३ र पानी, फोहोरलगायत क्षेत्रमा १८ हजार १८५ जना रहेको देखाएको छ ।

सर्वेक्षणले चारवटा नै उद्योग प्रतिष्ठानमा काम गर्ने कर्मचारीलाई तलब तथा सुविधा गरेर एक  खर्ब सात अर्ब ८९ करोड रहेको देखाएको छ ।

लकडाउनमा आर्थिक शोषण
सर्वेक्षणले लकडाउनका समयमा उद्योगमा कार्यरत कर्मचारी तथा श्रमिकमाथि ठूलो आर्थिक शोषण भएको देखाएको छ ।  विभागको औद्योगिक सर्वेक्षण अनुसार १० जनाभन्दा धेरै कर्मचारी राखेका उद्योगहरुमा अस्थायी मात्र नभई स्थायी कर्मचारीलाई समेत सेवा सुविधाविहीन अवस्थामा पुगेको देखाएको हो ।

तथ्याङ्कअनुसार अस्थायी प्रकृतिका ६० प्रतिशत कामदारले बिना तलब सुविधा कामबाट निस्कनु परेको छ ।

यस्तै, १७ प्रतिशत स्थायी कर्मचारी समेत सो समयमा बिना सेवा सुविधा बसेका थिए । सर्वेक्षण प्रतिवेदनअनुसार ११ प्रतिशतले मात्र आंशिक तलब सुविधा पाए भने १२ प्रतिशत कर्मचारीले समयमा तलब नपाएको तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ को महामारीका समयमा सरकारले गरेको करिब चार महिनाको लकडाउन अवधिमा लगभग ६३ प्रतिशत उद्योग प्रतिष्ठान पूर्णरुपमा बन्द भएको सर्वेक्षणले देखाएको छ ।

यसैगरी, २४ प्रतिशत उद्योग प्रतिष्ठानहरु आंशिक रुपमा सञ्चालनमा रहेका र बाँकी १३ उद्योग प्रतिष्ठान पूर्णरुपमा सञ्चालनमा रहेको सर्वेक्षणले देखाएको छ ।

विभागले विगतमा उत्पादनशील उद्योगहरुलाई मात्रै समेटेर गणना गर्ने गरिएको भए पनि यो सर्वेक्षण अन्तर्राष्ट्रिय मान्यता बमोजिम अन्य थप तीन क्षेत्रलाई समेटेर राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ गणना गरेको विभागले जनाएको छ ।

विभागले २०७६ फागुनमा तथ्याङ्क सङ्कलन सुरु गरेको थियो । तर, बीचमा कोभिड–१९ महामारीका कारण तथ्याङ्क सङ्कलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्याङ्क सार्वजनिक गरिएको हो ।