• १२ साउन २०८१, शनिबार

त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैको जिम्मेवारी : प्रधानमन्त्री देउवा

blog

तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन
काठमाडौं, असार २४ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।

त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्ष देउवाले सभालाई सम्बोधन गर्दै शुक्रबार यस्तो विचार राख्नुभएको हो ।


आजभन्दा ६३ वर्ष पहिले मुलुकमा उच्चशिक्षाको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले स्थापित त्रिभुवन विश्वविद्यालयले अनेक आरोहअवरोह पार गरेको छ ।  यस अवस्थासम्म आइपुग्दा मुलुकमा लाखौंको सङ्ख्यामा दक्ष र उच्च जनशक्ति विकास गरी राष्ट्रको समग्र आर्थिक सामाजिक विकासमा अतुलनीय योगदान पु-याएको छ ।

प्रधानमन्त्रीले विश्वविद्यालयका समस्त प्राज्ञिक वर्ग, पदाधिकारी, कर्मचारी तथा विद्यार्थीहरूलाई उहाँहरूले विश्वविद्यालयको विकास, विस्तार र स्तरोन्नतिमा निर्वाह गरेको भूमिकाका लागि आभार व्यक्त गर्नुभएको छ ।


विश्वविद्यालयका अध्ययन संस्थान र सङ्कायहरुबाट विभिन्न विषयमा आवश्यक मापदण्ड पूरा गरी तोकिएको परीक्षा उत्तीर्ण भई ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीहरूको ग्रेस लिस्ट पारित गर्न बसेको आजको सभामा प्रधानमन्त्रीले विभिन्न विषय र तहको उच्च उपाधि प्राप्त गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उहाँहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय नेपालको जेठो, सुप्रतिष्ठित र सबैभन्दा बढी शिक्षित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्था हो । सम्बोधनको क्रममा प्रधानमन्त्रीले आगामी वर्षको बजेट तथा कार्यक्रमले विश्वविद्यालयको प्राज्ञिक स्तरलाई उकास्न तथा विभिन्न भौतिक सुधारमार्फत विश्वविद्यालयलाई आधुनिक सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो ।


प्रधानमन्त्रीले भन्नुभयो, ‘‘हाम्रो सन्दर्भमा आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिहरूको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मेरो मान्यता छ । समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्चशिक्षा प्राप्त गरी समाजका लागि उपयोग गर्नसक्ने वातावरण निर्माण गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो ।’’

विश्वविद्यालयबाट सञ्चालित उच्चशिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी यसका प्राज्ञिक कार्यक्रमलाई थप सुधार र परिमार्जन गर्दै अघि बढ्नु आवश्यक रहेको भनाइ प्रधानमन्त्रीको छ ।


विश्वविद्यालयको प्राज्ञिक कार्यक्रमलाई स्तरोन्नति गर्दै उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीहरूलाई उनीहरूको रुचि र बजारको माग अनुसारको शिक्षा स्वदेशमै प्राप्त गर्न सक्ने वातावरण बनाउन उहाँले जोड दिनुभयो ।

यसबाट प्रतिभा पलायन रोक्न र उच्चशिक्षाको नाममा खर्च हुने राष्ट्रको ठ्लो धनराशि जोगाउन मद्दत पुग्ने हुँदा यसतर्फ ध्यान दिन प्रधानमन्त्रीले विश्वविद्यालयका पदाधिकारीसँग विशेष आग्रह गर्नुभयो ।

यसैगरी, विश्वविद्यालयले निश्चित शैक्षिक क्यालेण्डर बनाई सोही अनुसार समयमा नै पठनपाठन सम्पन्न गर्दै नतिजा प्रकाशित गरी समयको सदुपयोग गर्न पनि जोड दिँदै प्रधानमन्त्रीले विश्वविद्यालयबाट आर्जन गरिने शिक्षालाई जीवनोपयोगी, व्यावहारिक र रोजगारमूलक बनाउन ध्यान दिन सबैमा आग्रह गर्नुभयो ।


विद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने नभई मुलुकको विभिन्न क्षेत्रमा आवश्यक जनशक्ति पूर्ति सक्ने, समाजको विकास र परिवर्तनको लागि नेतृत्व लिन सक्ने तथा नवप्रवर्तनशील उद्यम तथा व्यवसाय सिकाउने शैक्षिक केन्द्र बन्न सक्नुपर्दछ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वविद्यालयबाट प्रदान हुने उच्च शिक्षालाई प्रविधि मैत्री र अनुसन्धानात्मक बनाउनु आवश्यक छ । यस्तो गर्न सकिएमा विद्यार्थीहरू थप लाभान्वित हुनुका साथै प्रतिस्पर्धा गर्नसक्ने क्षमता र सीप पनि विकास हुन जान्छ ।’’