• २८ वैशाख २०८१, शुक्रबार

ब्रेथिङ स्पेस अफ औँला (कविता)

blog

 रसिक राज

 एक जोर औँलाहरू 

पर्खिरहेका छन् शरणार्थी मानसिकता

कटेपछि देशभन्दा पर देशको अनुहार

बल्ल अघाउँछ औँलाको पेट


जराहरू काटेर एउटा रुख औँला

पारित गरिरहेछ 

पालुवाको हितमा एउटा लमेतन्न सरकारी योजना पत्र ।

छर्किरहेछन् अरू औँलाहरू

अत्तर कागजका फूलका पत्रमा ।


पहाडको ढिस्कोमा गाडिएका पाखुराका हात

देखाइरहेछ हिमाललाई पाँच औँला

हिउँपहिरो पर्खिरहेछ उसको स्वीकृति पोखिनलाई 

फाँट हाम फालिरहेछ छिमेकीको जाँघमा ।


उडिरहेका छन् सेता कागहरू 

परेवा मुखुण्डोमा

सालिकका औँलाहरूमा थुप्रेका छन् मासुका टुक्रा

सेतै भएका सहिदका नाक

विष्टाको मेमोरियबल कलर ।


खुट्टाहरूलाई आकाशतर्फ फर्काएर

औँलाहरू कोट्याई रहेछन् कानेगुजी

मुखहरूमा चप्किएको आठ हजार आठ सय अड्चालीसको विज्ञापन बोर्ड

अनि आकाशतिरै हिँडेका छन् लाइन लागेर साल्ट बाटरको गस्ती ।



केही औँलाहरू कोट्याइ रहेछन्

पोर्न स्टारको नाभीमा अड्केको सभ्यता

र सुँघाइ रहेछन् वर्तमानलाई


केही औँलाहरू उखालेर तिघ्राको रौँ 

बनाइरहेछन् इतिहासको मुखमा जुँगा


केही औँलाहरू झुन्डाइरहेछन् 

वेश्यालयको गेटमा

कागती र खुर्सानी ।

रातो र पिरो भएका छन्

कुममा टाँसिएका तारा आकारका लिङ्ग ।


केही औँलाहरू लेखिरेछन्

आफ्नो अनुहारको पक्षमा स्पष्टीकरण 

केही औँलाहरू कोट्याउँदै तिनै अक्षर

खोज्दैछन् आफ्नो निर्दोषता 

फगत प्रयास..


औँला मानसिकताका औँलाहरू

मान्छेका बोसोको बाफ पिउँदै 

कोरिरहेछन् पाइतलाको मुन्तिर

खरानीले औँलाहरू काँट्ने योजना ।