• १२ असार २०८१, बुधबार

केयूको शैक्षिक कार्यक्रम विस्तार

blog

काठमाडौँ विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तार सम्झौतापछि सामूहिक फोटो खिचाउँदै पदाधिकारी तथा संस्थाका प्रतिनिधि । तस्बिर सौजन्य : शिव थापामगर

बनेपा, असार २४ गते । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले सिन्धुली र विराटनगरमा आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने भएको छ । विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि यी दुई स्थानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको हो । बुधबार एक कार्यक्रमका बीच विश्वविद्यालयले सिन्धुली सामुदायिक टेक्निकल इस्टिच्युट र विराटनगरस्थित एस्पायर कलेजमा आफ्नो शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरेको छ । 

सो सम्झौताअनुसार सिन्धुली सामुदायिक टेक्निकल इस्टिच्युटमा ब्याचलर अफ टेक्निकल एजुकेसन इन्फरमेसन टेक्नोलोजी (बिटेक ईडी आईटी) र ब्याचलर अफ टेक्निकल एजुकेशन सिभिल इन्जिनियरिङ (बिटेक इडी सिभिल इन्जिनियरिङ) विषयको अध्यापन सुरु हुनेछ । यी दुवै विषयमा आगामी अगस्टबाट कक्षा सञ्चालन गर्ने र एउटा कक्षामा ३० जना विद्यार्थी भर्ना लिइने विश्वविद्यालयले जनाएको छ । 

यसैगरी विराटनगरमा रहेको एस्पायर कलेजले ब्याचलर अफ टेक्निकल एजुकेसन इन्फरमेसन टेक्नोलोजी (बिटेक ईडी आईटी) र ब्याचलर अफ प्रोफेसनल हस्पिटालिटी (बीपीएच) मा ३०÷३० जना विद्यार्थी भर्ना लिई यसै वर्षदेखि शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । बिटेक ईडी (आईटी) र बिटेक ईडी (सिभिल इन्जिनियरिङ) विश्वविद्यालयको स्कुल अफ एजुकेसन र ब्याचलर अफ प्रोफेसनल हस्पिटालिटी (बीपीएच) स्कुल अफ म्यानेजमेन्टअन्तर्गतका विषय हुन् ।

 कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र भौतिक व्यवस्थापनसम्बन्धी कार्यमा लाग्ने खर्च संस्थाले बेहोर्ने सम्झौतामा उल्लेख छ । प्राचार्य वा डाइरेक्टर कोओर्डिनेटरको नियुक्ति काठमाडांैँ विश्वविद्यालयले गर्ने र निर्धारित शिक्षण शुल्कमध्ये प्रतिवर्ष भर्ना हुने ब्याच (समूह) का विद्यार्थीहरूबाट प्राप्त भएको शिक्षण शुल्कको २० प्रतिशत रकम ती संस्थाले काठमाडाँै विश्वविद्यालयलाई बुझाउनुपर्नेछ । विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमलाई देशव्यापी बनाउने उद्देश्यले आङ्गिक तहमा सहकार्य र सम्बन्धनमा जाने कामको थालनी गरेको बताउनुभयो ।