• १२ असार २०८१, बुधबार

बढ्दो छ पाठेघर खस्ने समस्या

blog

इनरुवा, असार २४ गते । भोक्राहा नरसिंह गाउँपालिकाको गाउँ टोलमा महिलाको पाठेघर खस्ने अर्थात् आङ खस्ने समस्या बढ्दै गएको देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।गाउँमा महिलाको शरीरको गतिविधि र अङ्गस्थिति व्यस्तताका कारणले आङ खस्ने समस्या बढ्दै गएको देखिएको स्वास्थ्यकर्मीहरूले बताएका हुन् ।

गाउँमा महिलामा हिँड्दा, बस्दा, उभिँदा वा अन्य अवस्थामा शरीर बाङ्गो बनाउनु, ढल्काउनु, निहुरिएर वा कुप्रो परेर बस्नु, गहु्रुँगो सामान उठाउँदा बढी बल लगाउनु, सुत्केरी अवस्थामा बलपूर्वक गह्रुँगो सामान उठाउनु वा कठिन काम गर्नु, धेरैबेर उभिनुलगायतका कारणले महिलामा यो समस्या देखिएको हो । यो समस्या अधिक बढ्दै गएपछि महिलालाई गाउँमा नै सेवा दिने उद्देश्यले गाउँपालिकाले यो समस्या सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा शल्यक्रिया गराएको छ ।

स्वास्थ्यकर्मी रामाशङ्कर साहका अनुसार गाउँमा आमा समूहसँग छलफल गर्दा धेरै महिलाले आफूहरूमा आङ खस्ने समस्या भएको बताएपछि शिविर आयोजना गरिएको हो । उक्त शिविरमा ५० जनाभन्दा बढी महिलालाई सेवा प्रवाह गरिएको छ । 

अर्का स्वास्थ्यकर्मी प्रदीप यादवले ग्रामीण महिलाको पाठेघरमा ट्यूमर भएर पनि समस्या हुने भएकाले ख्याल गर्नुपर्ने बताउनुभयो । भोक्राहा नरसिंह गाउँपालिकाको स्वास्थ्य शाखाले भोक्राहा स्वास्थ्य चौकी वडा नम्बर २ अकाहा र नरसिंह स्वास्थ्य चौकी वडा नम्बर ७ नरसिंहमा विराट नरसिंह होम अस्पतालको समन्वयमा स्वास्थ्य शिविर सम्पन्न भएको जनाएको छ । 

गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले गाउँका महिलामा देखिएको समस्यालाई ध्यानमा राखेर शिविरको आयोजना गरेको बताउनुभयो । उहाँले आवश्यकता र मागमा आधारित अन्य शिविरहरू पनि गर्ने जानकारी दिनुभयो ।