• १२ असार २०८१, बुधबार

प्रतिकक्षा एक शिक्षक

blog

लहान, असार २४ गते । लहान नगरपालिकाले आगामी साउनदेखि स्वयंसेवक शिक्षक भर्ना गर्ने भएको छ । शैक्षिक अवस्थामा सुधार गर्न आधारभूत तहमा प्रतिकक्षा एक जना शिक्षक भर्ना कार्यक्रमअन्तर्गत १२५ जना शिक्षक भर्ना गर्न लागिएको हो ।

‘हाम्रो लहान समृद्ध, समुन्नत र सभ्य लहान’ नारा कार्यान्वयन गर्न शिक्षा स्वास्थ्य र रोजगारीमा जोड दिनुभएका नगरप्रमुख महेशप्रसाद चौधरीले ५९ वटै सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि आधारभूत तहमा प्रतिकक्षा एक शिक्षक र माध्यमिक तहमा विषयगत शिक्षकको आवश्यकता पूरा गर्न १२५ जना स्वयंसेवक शिक्षक भर्ना गर्न लागिएको बताउनुभयो ।  

नगरप्रमुख चौधरीले भन्नुभयो, “शिक्षामा व्यापक सुधार गर्नका लागि नियमित अनुगमन कार्यलाई निरन्तरता दिएका छौँ । अनुगमनको क्रममा सामुदायिक विद्यालयमा देखिएको कमी कमजोरीलाई ध्यानमा राखेर आगामी कार्यक्रम बनाउन शिक्षा समितिलाई सक्रिय गर्न लागेका छौँ ।”

सामुदायिक विद्यालयमा खाजा कार्यक्रम लागू गरेपछि विद्यार्थी सङ्ख्या ह्वातै बढेकोले आधारभूत तहसम्म प्रतिकक्षा एक शिक्षक अनिवार्य कार्यक्रम सफल पार्न स्वयंसेवक शिक्षक भर्ना गर्न लागेको उहाँले बताउनुभयो । नगरपालिकामा भर्ना गरिएका अनावश्यक ज्यालादारी र करार कर्मचारीलाई हटाएर शिक्षक भर्नामा सो रकम खर्च गरिने नगरप्रमुख चौधरीले बताउनुभयो ।

“अधिकांश विद्यालयमा विद्यार्थी सङ्ख्या बढी भए पनि विद्यार्थी अनुपातमा शिक्षक सङ्ख्या अपुग रहेकोले कतिपय विद्यालयमा ३ कक्षासम्म एक जना मात्रै शिक्षक रहेकोले विद्यार्थी अनुपातमा स्वयंसेवक शिक्षक भर्ना लागेको छौँ” उहाँँले भन्नुभयो ।