• १२ असार २०८१, बुधबार

‘योजना छनोटमा आर्थिक चलखेल’

blog

अछाम, असार २४ गते । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले योजना छनोटमा आर्थिक चलखेल हुन्छ भन्ने सुन्दा आश्चर्य लागेको बताउनुभएको छ । प्रदेश प्रमुख जोशीले योजना छनोटमा आर्थिक चलखेल हुने गरेको भन्ने गुनासो सम्बन्धमा आवश्यक कारबाही गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशका योजनाको छनोट आर्थिक चलखेलका आधारमा हुने गरेको भन्दै कार्यालय प्रमुख र सञ्चारकर्मीले प्रश्न उठाएका थिए । अछाम सदरमुकाम मङ्गलसेनमा बिहीबार आयोजित कार्यालय प्रमुख र पत्रकारसँगको भेटघाटमा प्रदेश प्रमुख जोशीले भन्नुभयो, “म यहाँबाट गएर स्पष्टीकरण सोध्ने वा सचेत गराउने कुरा गर्छु ।” 

प्रदेश मातहतका कार्यालयबाट गएका, जनप्रतिनिधिका योजना नआएको र आर्थिक चलखेलका योजना छनोट भएको विषयमा छलफलमा प्रश्न उठेको थियो । योजना वितरणका विषयमा यसअघि मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधेको स्मरण गर्दै प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री र मन्त्रीलाई सचेत गर्ने र स्पष्टीकरण गर्ने अधिकारबाहेक योजना छनोटमा आफ्नो कुनै भूमिका नरहने स्पष्ट पार्नुभयो ।

उहाँले जनप्रतिनिधि र कर्मचारीले कानुनको मातहतमा रहेर सेवाग्राहीलाई नागरिकमैत्री सेवा दिन निर्देशन समेत दिनुभयो । प्रदेश प्रमुख समक्ष चिसापानी–जङ्गलघाट–मङ्गलसेन सडक ६० वर्षसम्म जोडिन नसकेको, माथिल्लो कर्णाली, बूढीगङ्गा र सेत लोकमार्ग, मङ्गलसेन दरबार, स्वास्थ्यका भवन निर्माणमा चरम ढिलाइ भइरहेको जानकारी पनि सहभागीले दिएका थिए । 

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले राजपत्र अनङ्किततर्फ ४० र राजपत्राङ्कित ६० प्रतिशत कार्यालयका कर्मचारीको दरबन्दी खाली रहेको बताउनुभयो । उहाँले आफ्नो जिम्मेवारीअनुसार जिल्लाका विकास निर्माणका काममा सहजीकरण गर्ने काम गरिएको बताउनुभयो । सुदूरपश्चिम प्रदेशका जिल्लाको वास्तविकता बुझ्न आफू जिल्लातिर आएको प्रदेश प्रमुख जोशीको भनाइ थियो । प्रदेश प्रमुख जोशीले जिल्लाका कार्यालय प्रमुख र त्यहाँका अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।