• १२ असार २०८१, बुधबार

अस्तव्यस्त सडक

blog

समयमै काम सम्पन्न नहुँदा अस्तव्यस्त बनेको रामेछापको मन्थली–चिसापानी–पुरानागाउँ सडक ।

रामेछाप, असार २४ गते । मन्थली–चिसापानी–पुरानागाउँ सडक अस्तव्यस्त अवस्थामा पुगेको छ । सडक अस्तव्यस्त भएसँगै सवारी चालक तथा यात्रुलाई आवागमनमा समस्या भएको छ । ७.३६ किलोमिटर लम्बाइको मन्थली–चिसापानी–पुरानागाउँ सडक नाला तथा ग्याभिनसहित कालोपत्रे गर्ने गरी कान्छाराम कन्स्ट्रक्सन मैजु बहाल काठमाडौँले गत पुस २५ गते कार्य सम्पन्न गर्ने गरी २०७७ असार २६ गते ठेक्कामा लिएको थियो ।

तर अहिले निर्माण कम्पनीले बस्तीको बीचमा ठाउँ ठाउँमा नाला खनेर सडक अलपत्र पारेर छाडिदिएको छ । सडक विस्तार गरिएको जखनीटारदेखि चिसापानीसम्मको भाग पनि बाढीले बगाएर खण्डहर बनाएको छ । अधिकांश ठाउँमा नाला पुरिएको छ । ठाउँठाउँमा पहिरो गएको छ । छ महिनायतादेखि सडकको कुनै पनि काम नभएको र ठेकेदार कम्पनीको कुनै कामदार र कर्मचारी नदेखिएको स्थानीयको गुनासो छ । 

सडक निर्माणको काम अलपत्र छाडेको कारण सडकको भल व्यक्तिको घर र खेतमा पसेर क्षति पु-याएको चिसापानीकी स्थानीय शान्ता श्रेष्ठले बताउनुभयो । गाउँको बीचमा सडक खनेर अलपत्र पार्दा गाउँका धेरै घर जोखिममा परेको र बस्तुभाउ नालामा पर्ने जोखिम पनि बढेको उहाँले बताउनुभयो । 

मनलाग्दी खनिएका नालाबाट आउने भलले बस्ती नै जोखिममा रहेको स्थानीय अर्जुन श्रेष्ठ बताउनुहुन्छ । सडक कालोपत्रका लागि काम गर्दा निर्माण व्यवसायीले स्थानीयसँग समन्वय गरेका छैनन्, मनलाग्दी खनिएका सडक र नालाका कारण वर्षाको समयमा पर्ने पानी र बग्ने भल बाढीले बस्तीहरू जोखिममा छन् उहाँले भन्नुभयो । बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको कार्यालयसँग १७ करोड ८८ लाख ६१ हजार ८८० रुपियाँमा काम गर्ने गरी ठेक्का लिएको सो कम्पनीले हालसम्म जखनीटारदेखि चिसापानीको ठूलो पँधेरोसम्म सडक विस्तार र नाला खन्ने काम गरेको छ । 

मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ राजनीतिक आडमा नै सडक निर्माणको काम अघि नबढेको बताउनुहुन्छ । आफू वडाध्यक्ष निर्वाचित नहुँदादेखि नै समयमा काम गर्न निर्माण व्यवसायीलाई बारम्बार अनुरोध गरेको भए पनि त्यसको सुनुवाइ नभएको उहाँले बताउनुभयो । अझ राजनीतिक आडमा कामको म्याद थपेर निर्माण व्यवसायी आनन्दले बसिरहेको उहाँले गुनासो गर्नुभयो । “गत पुस २५ गते कार्य सम्पन्न गर्नुपर्ने यो सडकका लागि पहिलो पटक तीन महिना र अहिले एक वर्ष म्याद थपिएको भन्ने सुनेको छ,” उहाँले भन्नुभयो ।