• १२ असार २०८१, बुधबार

सल्यान अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट जडान

blog

सल्यान अस्पताल सल्यानमा फिलिङ सिस्टम अक्सिजन प्लान्ट जडान गरिएको छ । तस्विर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, असार २४ गते ।  सल्यान अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दैनिक १ हजार ६ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता भएको फिलिङ सिस्टम अक्सिजन प्लान्ट जडान गरिएको हो । 

अक्सिजन प्लान्ट जडान गरेपछि बिरामीका आफन्तलगायत सम्बन्धित निकायले खाली सिलिन्डर बोकेर दाङ, नेपालगन्ज, सुर्खेत, बुटवल जानु पर्ने बाध्यता अन्त्य भएको छ । अक्सिजन प्लान्ट जडान गरेपछि सल्यान मात्र नभई रोल्पा रुकुमका स्थानीयसमेत लाभान्वित हुने भएका छन् ।  

कोरोना महामारीको समयमा चरम अभाव भएकाले त्यसलाई पूर्ति गर्न जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट जडान गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त व्यवस्थापक दशरथ श्रेष्ठले वताउनु भयो । 

कोरोनाका बिरामीका लागि मात्र नभई अक्सिजनको समस्या हुने सबै खालका बिरामीले सहजरुपमा अक्सिजन पाउने छन । 

। संघीय सरकारको ७१ लाख अनुदानमा अक्सिजन उत्पादन गर्ने क्षमता भएको फिलिङ सिस्टम अक्सिजन प्लान्ट जडान गरिएको हो ।  अक्सिजन अभावमा जिल्ला अस्पताल आएका कसैले ज्यान गुमाउन  पर्ने छैन ।

 सल्यान अस्पताल सल्यानका ईन्चार्ज एमडीजीपी डा. अभिषेक सिंहले अक्सिजन प्लान्ट जडानपछि जिल्लावासीलाई धेरै फाइदा भएको र आउँदा दिनमा कोरोना, दम तथा अन्य बिरामीले अक्सिजनका लागि सिलिन्डर बोकेर विभिन्न जिल्ला धाउन नपर्ने बताउनु भयो । उहाका अनुसार प्लान्टले सल्यान मात्र नभई रुकुम, रोल्पा र जाजरकोटवासीसमेत लाभान्वित हुने छन् ।  

अक्सिजन प्लान्टको अभावकै कारण अहिलेसम्म अस्पतालमा भेन्टिलेटर र आईसीयु संचालन हुन नसकेको भए पनि आउँदा दिनमा सरकारले दक्ष जनशक्ति व्यवस्था गरेमा अस्पतालमा थन्किएका सामग्रीलाई प्रयोग गरेर आईसीयु तथा भेन्टिलेटरसमेत संचालन गर्न सकिने छ ।

 सल्यान अस्पताल विकास समितिका अध्यक्ष चन्द्रप्रकाश वलीले १५ शय्याको जिल्ला अस्पताल सल्यानमा अहिले ३५ शय्या राखेर बिरामीको उपचार भइरहेको वताउनुभयो । उहाका अनुसार,  दैनिक १ सय ५० देखि २ सयसम्म बिरामी उपचारका लागि सल्यान अस्पताल आउने गरेका छन् । 

प्लान्टले  उत्पादन भएको अक्सिजन अस्पतालमा आएका बिरामीमात्र नभई बाहिरबाट कोही खाली सिलिन्डर ल्याएमा सीमित शुल्क लिई भरेर उपलब्ध गराउन सकिने छ ।