• १३ असोज २०८१, आइतबार

नबसेरै प्रदेश सभा बैठक स्थगित

blog

मुना हमाल 

सुर्खेत, असार २३ गते । आज बिहीबार बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक नबसेरै स्थगित भएको छ । बिहीबार बिहान अवरुद्ध प्रदेश सभा बैठक खुलाउन सभामुख राजबहादुर शाहीको नेतृत्वमा बसेको सर्वदलीय बैठक विनानिष्कर्ष सकिएपछि आज बस्ने भनिएको बैठक बस्न नसकेको हो । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले असार १२ गतेको प्रदेश सभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि असन्तुष्टी व्यक्त गर्दै बैठक अवरुद्ध गरे यता प्रदेश सभाको बैठक बस्न सकेको छैन ।

बिहीबार पनि बसेको सर्वदलीय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहान ८ बजे फेरि सर्वदलीय बैठक बस्ने भएको छ । बिहीबार बस्ने भनिएको बैठक पनि शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । 

प्रदेश सभा बैठक अनिश्चित हुँदा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको दफावार छलफल हुनसकेन । सरकार र प्रतिपक्ष आफ्नै अडानबाट पछि नहट्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । सभामुख शाहीले अहिलेसम्म सहमति नजुटेको बताउनुभयो । यद्यपि छलफल सहमतिउन्मुख रहेकाले शुक्रबार बिहान बस्ने सर्वदलीय बैठकले टुङ्गो लगाएर प्रदेश सभाको बैठक बस्ने बताउनुभयो । 

एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यविधिअनुसार हुनुपर्ने, बजेटमा सुदुरपश्चिम प्रदेशका तीनवटा जिल्लाका लागि छुट्याइएको योजनाको बजेट हटाउनु पर्ने, टुक्रे योजनामा विनियोजन गरिएको बजेट संशाेधन गरिनुपर्ने र एमालेसँग सरकारले गरेको सहमति कार्यान्वयन गरेर अघि बढ्नुपर्ने एमालेले माग राखेको छ ।