• २५ असार २०८१, मङ्गलबार

आँपका रुख सुक्न थालेपछि धनुषाका किसान चिन्तित

blog

धनुषाको भरतपुर रहेको बगानमा सुेकेको आँपका रुख । तस्बिर : गोरखापत्र

विजयकुमार साह 

ढल्केवर, असार २३ गते । फल्नु पर्ने समयमा आँपका रुखहरु सुक्न थालेपछि धनुषाका किसान चिन्तित बनेका छन् । केही महिनायता जिल्लाको सयौं हेक्टर जग्गामा लगाइएका आँपका रुख सुकेका छन् ।

आँपको रुख सुक्नु पूर्व माकुराको जालोजस्तो लाग्ने र विस्तारै पातहरु सुक्दै गएपछि रुख पनि सुक्ने गरेको किसानहरु बताउनहुन्छ । उहाँहरुले आँपको रुखमा अचानक रोग लागेको बताउनुहुँदै पहिला यस्तो प्रकारको समस्या रुखमा नदेखिएको जानकारी दिनुभयो । यस पटक रुखमा नौंलो प्रकारको समस्या देखिएको किसानहरुको कथन छ । 

बटेश्वरका अर्जुनकुमार महतोले यस्तै रोगका कारण ढेड बिघा जग्गामा लगाइएको आँपको रुख सुकेपछि फँडानी गरेर नयाँ बिरुवा रोपिएको बताउनुभयो । उहाँले रुखमा लागेको जालो आफैँ निको हुने अनुमान गरे पनि केही सययमा रुख नै सुकेपछि फँडानी गरेर नयाँ बिरुवा रोपेको भन्नुभयो । 

जेटिएसमेत रहनुभएका अर्जुनकुमारले वातावरणमा आएको परिवर्तनका कारण आँपको रुखमा यो रोग देखापरेको बताउनुभयो । आँपको रुखलाई चाहिनेभन्दा बढी तापक्रम बढेको छ । जसले गर्दा फलेका आँप पनि समय अगावै पाक्ने गरेको उहाँले भन्नुभयो ।  

मिथिला नगरपालिका–३ हरिहरपुरका अर्का किसान मनोज महतोले जालो लागेको रुखमा कीटनाशक औषधि छर्किँदा पनि राम्रोसँग काम नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, सुरुमा त रुखमा माकुराको जालो लाग्यो, हामीले त्यसप्रति खासै चासो राखेनौ, तर पछि त रुख नै सुक्यो । 

कृषि ज्ञान केन्द्र धनुषाका बागबानी शाखा अधिकृत प्रदीप यादवले आँपको बोटमा जालो देखिएपनि डराउनु र्ने अवस्था भने नरहेको बताए । उहाँले किसानले सजगता अपनाए समस्या न्यूनीकरण हुने दावी गर्नुभयो । अहिले निरन्तर रुपमा परिरहेकाले वर्षाले किसानले रुखमा लागेको जालोलाई हातले वा आफू अनुकूल कुनै साधनले हटाएर नष्ट ग¥यो भने समस्या समाधान हुने अधिकृत यादवले बताउनुभयो । 

रुखको जरालगायत वरपर नियमित सरसफाइ र जालो लागेको पात तथा हाँगा टिपेरै नष्ट गर्दा धेरै हदसम्म समस्या समाधान हुने उहाँले भन्नुभयो । धनुषामा तीन हजार दुइ सय ३८ हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको कृषि ज्ञान केन्द्र धनुषाले जानकारी दिएको छ ।