• २८ वैशाख २०८१, शुक्रबार

परदेश परिचय इरान

blog

पहिले पहिले पर्सिया भनेर चिनिने इरान मध्यएसिया, दक्षिण एसिया र मध्यपूर्वका अरब राज्यहरूको चौबाटोमा अवस्थित छ । अत्यन्तै सामरिक ठाउँमा रहेको र पर्सियन खाडीमा पहुँचका कारण इरान इतिहासदेखि नै महत्त्वपूर्ण मुलुकका रूपमा छ । १६ लाख ४८ हजार १०५ वर्ग किलोमिटर क्षेत्रफल भएको यो मुलुकको जनसङ्ख्या आठ करोड ५० लाख हाराहारी छ । इरानको राजधानी तेहरान हो । इरानको राष्ट्रिय भाषा फार्सी हो । इरानको मुद्रालाई रियाल भनिन्छ ।  

इरानको अधिकांश भूभागलाई सुन्दर तर निर्जन भूदृश्यले बाहिरी संसारबाट अलग्गै राखेको छ । उच्च, विषम हिमालहरू इरानको पश्चिमी सिमानामा पर्खालका रूपमा खडा छन् भने पूर्वी क्षेत्र बाँझो र नुनिलो मरुभूमिले ढाकेको छ । 


इरानको उत्तरमा क्यास्पियन सागरसँग जोडिएको साँघुरो र उर्वर धर्सो छ । दक्षिणको होचो भूभाग पर्सियन खाडी र ओमनको खाडीसँग जोडिएको छ । अधिकांश इरानी जनता देशको मध्यभागमा पर्ने उच्च पहाडी मैदानका धारहरूमा बसोबास गर्छन् । 

इरानको सरकार सर्वोच्च नेताका रूपमा चिनिने धार्मिक व्यक्तित्वद्वारा नियन्त्रित छ । इस्लामिक धर्मगुहरू सहभागी रहेको विज्ञ सभाले सर्वोच्च नेता चयन गर्छ । जननिर्वाचित राष्ट्रपति दोस्रो वरीयतामा हुन्छन् । अहिले इरानको सर्वोच्च नेता रुहोल्लाह खमेनी र राष्ट्रपति इब्राहिम राइसी छन् । 

इरानसँग विशाल तेल भण्डार छ तर अमेरिकाले सन् १९७९ देखि लगाएको प्रतिबन्धका कारण इरानी अर्थतन्त्रमा नराम्रो असर परेको छ । 

इतिहास

इरान संसारकै सबैभन्दा पुरानो देश हो । यसको इतिहास दसौँ हजार वर्षको छ । इरानको पहिलो विशाल सहर सुसा इशापूर्व ३२०० तिर मध्यपहाडी मैदानमा निर्माण भएको थियो । 

इशापूर्व ५५९ तिर दक्षिणपश्चिमी इरानमा पर्सियन साम्राज्यको उदय भयो र यसले मेसोपोटामियाली र इजिप्सियनहरूलाई जित्यो । पछि उक्त साम्राज्य भूमध्यसागरबाट अहिलेको पाकिस्तानसम्म विस्तार भयो । त्यसपछि इशापूर्व ३३० मा यसलाई ग्रिकहरूले जिते ।

इशापूर्व २६० तिर पार्नीको नामले चिनिने फिरन्ताहरूले ग्रिकलाई लखेटेर करिब ५०० वर्ष शासन गरे । सन् २२४ मा सस्सानिडहरू शक्तिमा आए । पछि सन् ६४२ मा पर्सिया इस्लामिक साम्राज्यको अङ्ग बन्यो । सन् १५०१ मा सफाविड साम्राज्यका शाहहरू वा राजाहरूले इरानमा शासन गर्न थाले ।

इशाको अठारौँ शताब्दीको अन्त्यतिर रसिया र बेलायतले पनि पर्सियाका केही हिस्सामाथि कब्जा जमाए । सन् १९२१ मा रेजा खान नामका पर्सियन सैनिक अधिकृतले इरानको सत्ता कब्जा गरेर विदेशी आधिपत्यको अन्त्य गरे । उनले सन् १९३५ मा पर्सियाको नाम बदलेर इरान राखे । उनका छोरा मोहम्मद रेजा पाहलावी सन् १९४१ मा शाह अर्थात् राजा बने । पाहलावी भ्रष्ट हुँदै गएको ठान्ने इरानीले सन् १९७९ मा उनलाई सत्ता छाड्न बाध्य बनाए । योसँगै इरानमा शाहहरूको शासन टुङ्गियो । 

संस्कृति 

बलियो धार्मिक आस्था हजारौँ वर्षदेखि इरानी जीवनको अभिन्न अङ्गका रूपमा छ । इरानका सबैजसो नागरिकले इस्लाम धर्म मान्छन् । दैनिक जीवनको केन्द्रमा इस्लाम धर्म नै छ । इरानसँग विद्वताको लामो इतिहास छ । त्यसले इरानी कला, साहित्य, कविता, सङ्गीत, भोजन र वास्तुविद्याको समृद्ध संस्कृति निर्माण गरेको छ । प्राचीन इरानी विचारकहरूले दर्शनशास्त्र र औषधिका प्रभावशाली सूत्रहरू लेखेका छन् । बिजगणितको आविष्कार पनि इरानी गणितज्ञले नै गरेका हुन् ।

प्रकृति 

कुनै समय इरान थुप्रै सिंह, बाघ र यो प्रजातिका अन्य ठूला जीवजन्तुको घर थियो तर यी आकर्षक सिकारी जन्तुहरू अहिले दुर्लभ भइसकेका छन् । केही प्रजाति त लोप नै भइसकेको बताइन्छ । औँलामा गन्न सकिने केही एसियाली र पर्सियन चितुवा बाँकी छन् ।  

इरानको पश्चिम र उत्तरका हिमाली क्षेत्रमा घना जङ्गल छन् । ती जङ्गलमा खैरो भालु, जङ्गली बाख्रा, ब्वाँसा र चितुवा पाइन्छ । इरानको मध्यपहाडी मैदानमा मृग, हायना, स्याल, हरिणजस्ता वन्यजन्तु पाइन्छ ।