• १२ असार २०८१, बुधबार

वित्तीय साक्षरतापछि कमाउँदै महिला

blog

वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरतासम्बन्धी कक्षाका सहभागी । तस्बिर : मुना हमाल

मुना हमाल

सुर्खेत, असार २३ गते । वराहताल गाउँपालिका–५, चेपाङकी कमला रावतको वित्तीय साक्षरता कक्षा लिएपछि घरमै कमाइ गरेर सानोतिनो खर्च व्यवस्थापन गर्न थाल्नुभएको छ । भारतको रोजगारीमा रहेका श्रीमान्को कमाइले यसअघि घर खर्च धानिँदै आएको थियो । कमलाले घरमा कुखुरा, बाख्रा पाल्नुभएको छ । करेसामा तरकारी लगाउनुभएको छ । कमलाले भन्नुभयो, “खेतीले वर्षभरि खान पुग्दैन । अहिले सानोतिनो खर्च मैले आफैँ व्यवस्थापन गर्छु । ऋण गर्नुपरेको छैन । आयआर्जन बढ्दै गएको छ ।”

सोही ठाउँकी पम्फा सारुले पनि वित्तीय साक्षरता कक्षामा सहभागी भएर घर खर्चका लागि आयआर्जन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “घरमा खानाका लागि अन्नबाली आफैँ उत्पादन गर्छौं । धेरै भएको बिक्री गरी कमाइ गरेको छु ।” उहाँले भन्नुभयो, “पोषणयुक्त खाना उत्पादन गर्छाैं । तरकारी खेतीका लागि प्लास्टिक टनेल पनि बनाएका छौँ । आफूलाई पनि खान हुन्छ । बढी भएको बिक्री गरेर केही आम्दानी पनि हुन्छ ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषिक्षेत्र विकास कार्यक्रमले महिलालाई व्यावसायिक सीप, व्यावसायिक योजना, जोखिम व्यवस्थापन, बचत तथा कर्जा व्यवस्थापन, उद्यमशीलता विषयमा जानकारी ४० हप्ते वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षा सञ्चालन गरेको थियो । सो वित्तीय साक्षरता कक्षाबाट आम्दानी, खर्च व्यवस्थापन, बचतका साथै अन्य ज्ञानका कुरा सिकाइएको बताइएको छ । लगाएको खेतीले वर्षभरि खान नपुग्ने भएपछि गाउँका अधिकांश पुरुष कमाइका लागि भारत जान्छन् ।

अहिले गाउँमा महिला आयआर्जनमा लागेका छन् । पोषणयुक्त खाना उत्पादनसँगै उनीहरूले सो अनाज बिक्री गरेर आम्दानी गरी घरव्यवहार चलाउन सहज भएको उनीहरूको भनाइ छ । सोही ठाउँकी टीका सुनारले घरमा थोरै भए पनि तरकारी खेतीसँगै कुखुरा पाल्ने, बाख्रा पाल्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पहिले कृषिबाट केही हुँदैन भन्ने लाग्थ्यो । श्रीमान्को इन्डियाको कमाइले घर खर्च चलाउँथ्यौँ ।”

उहाँले भन्नुभयो, “मेहनत गरेपछि कृषिमा सुन फल्ने रहेछ । घरमै सानोतिनो खर्च आफैँ जुटाउन सक्ने भएका छौँ ।” कृषि क्षेत्र विकास कार्यक्रम संयोजक विनोदकुमार भट्टराईले गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी कृषकको आम्दानीमा वृद्धि तथा पोषणमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले वित्तीय साक्षरता कक्षाले व्यावसायिक योजना र स्थानीयस्तरमै अर्गानिक खाना उत्पादनमा वृद्धि भएको बताउनुभयो । उहाँले १५ देखि ४९ वर्ष उमेर समूहका महिलाका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वित्तीय साक्षरता कक्षामा व्यावसायिक योजना, जोखिम व्यवस्थापन मात्र नभएर पोषणसम्बन्धी ज्ञान पनि दिइन्छ ।”