जनार्जन खत्री
सर्लाही, मङ्सिर ८ गते । सर्लाहीमा २२ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । गत असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी भएपछि सर्लाहीसहित देशैभर फागुन २१ को निर्वाचनलाई लक्षित गरी मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो ।
चुनाव घोषणा गरेपछि मतदाता नामावली दर्ता रोक्ने व्यवस्था रहेकोमा यसपटक सरकारले अध्यादेशमार्फत कानुन परिवर्तन गरेर नामावली सङ्कलन गरेको हो ।
मङ्सिर ५ गतेपछि भने मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिएको छ । मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी भएदेखि मङ्सिर ५ गतेसम्म सर्लाहीमा २२ हजार ५९५ नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख शिवनारायण साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार नयाँ थपिएका मतदातामध्ये छ हजार ५०० जनाले सदरमुकाम मलङ्गवास्थित निर्वाचन कार्यालयमै आएर नामावली दर्ता गराएका हुन् । कार्यालयमा आएर नामावली दर्ता गराएका छ हजार पाँच सयमध्ये तीन हजार ६८१ जना पुरुष र दुई हजार ८१९ जना महिला रहेका छन् ।
कार्यालयमा आएर बायोमेट्रिक दिइ नामावली दर्ता गराउने भन्दा अनलाइनबाट दर्ता गराउने सेवाग्राही झण्डै तेब्बरले बढी छन् । सर्लाहीमा थपिएका २२ हजार ५९५ मतदातामध्ये अनलाइनबाट १६ हजार ९५ जनाले राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको व्यक्तिको जैविक तथ्याङ्क (बायोमेट्रिक) का आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गरेपछि सर्लाहीसहित देशैभर ठुलो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख साहले अनलाइनबाट भरिएको विवरण रुजु गर्नेसहितका काम धमाधम भइरहेको बताउनुभयो ।
निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउनका लागि मङ्सिर २१ गतेदेखि २७ गतेभित्र निवेदन दिन सक्ने उल्लेख गरेको छ । अहिले १६ वर्ष पुगेपछि नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराएका भएपनि फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा मतदान गर्न फागुन २० गतेसम्म १८ वर्ष पूरा भएको हुनुपर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख साहले प्रष्ट पार्नुभएको छ ।
सर्लाहीमा निर्वाचन घोषणा भएपछि थपिएका २२ हजार ५९५ मतदाताबाहेक यसअघि चार लाख ९० हजार चार जना मतदाता रहेका थिए ।