• १२ असार २०८१, बुधबार

‘ढाकाको राजधानी पाल्पा मात्रै’

blog

तानसेन, असार २३ गते । पाल्पा जिल्लालाई ढाका पोसाक उत्पादनको एकल राजधानी घोषणा गरिएको छ ।  लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको थियो । पाल्पा भन्नासाथ ढाका कपडा र करुवाले चिनिने भएका कारण यहाँको महìव र पहिचानका लागि ढाकाको राजधानी बनाउनुुपर्ने तानसेन नगरपालिकाका उपमेयर प्रतीक्षा गाहा सिंजालीले माग गर्नुभयो । 

२०१५ सालदेखि सुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय गहनाका रूपमा पहिचान बनाएकाले ढाकाको राजधानी गराउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु महर्जनले बताउनुभयो । पाल्पालाई २०७८ चैत १२ गते ढाकाको राजधानी घोषणा गरिएको हो । २०७९ असार २० गते ढाकाको राजधानी तेह्रथुम घोषणा गरिएको समाचार सामाजिक सञ्जालमा आएसँगै पाल्पा उद्योग वाणिज्य सङ्घको ध्यान केन्द्रित भएको छ । 

पाल्पालाई नै ढाकाको राजधानी गराउनुपर्नेमा दुई मत नरहेको पाल्पा उद्योग वाणिज्य सङ्घ महासचिव शैलेन्द्र भट्टराईले बताउनुभयो । ढाका सङ्घका अध्यक्ष पूर्णमाया महर्जनका श्रीमान् स्वर्गीय गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि २०१५ सालमा पाल्पामा ढाका कपडाको व्यवसाय सुरु भएको थियो । 

अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको पूर्णमाया महर्जन सम्झिनुहुन्छ । स्व. गणेशमानले सुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । पाल्पामा स्वदेशभित्रै पूर्व पश्चिमसम्म तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गर्दछन् ।

पाल्पाली ढाकाबाट साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी ५० भन्दा बढी प्रकारका सामान उत्पादन हुने गर्छन् । पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् ।  पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । 

कार्की ढाका उद्योग, सरस्वती ढाका कपडा, पौडेल ढाका कपडा उद्योग, नेपाल कपडा उद्योग, बाँस्टारी ढाका कपडा उद्योग, मङ्गलचन्द ढाका कपडा उद्योग यहाँका चर्चित उद्योगमा पर्छन् ।