• ४ असार २०८१, मङ्गलबार

चिकित्सकलाई कारबाही सिफारिस

blog

बाँके, असार २३ गते । सामान्यतया सरकारी कर्मचारीले कार्यालय प्रवेश गरेपछि कार्यालय समयमा दैनिक हाजिर गर्छन् तर भेरी अस्पताल नेपालगञ्जका एक जना वरिष्ठ चिकित्सकले भने एक सातापछिसम्मको हाजिर गरेको पाइएको छ । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले असार २० गते प्रशासन शाखा पुगेर एकै पटक असार २९ गतेसम्मको हाजिर गर्नुभएको छ ।

डा. नागको नेपालगञ्जको पासाङल्हामु मार्गमा निजी तवरबाट वैष्णवी अस्पताल सञ्चालित छ । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार डा. नागले यसअघि पनि समयमा ड्युटीमा नआउने, लापरबाही गर्ने गरेको पाइएपछि सुधारका लागि बारम्बार अनुरोध गरिएको थियो ।

“समितिको अनुरोधलाई बेवास्ता गरेपछि गत वर्ष साउन २२ गते आवश्यक कारबाहीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा लेखिपठाएका थियौँ,” धितालले भन्नुभयो, “मन्त्रालयबाट कुनै पनि प्रकारको कारबाही अघि नबढेपछि दोस्रो पटक गम्भीर लापरबाही भएको छ ।” 

वरिष्ठ चिकित्सकहरूले नै अस्पतालमा लापरबाही गर्ने र निजी अस्पतालमा मात्रै ध्यान केन्द्रित गर्दा उपचारका लागि आउने सर्वसाधारणले सास्ती भोग्नु परिरहेको अस्पताल विकास समितिले जनाएको छ । भेरी अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा छिमेकी मुलुक भारतबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।