• ४ असार २०८१, मङ्गलबार

हट्यो खानेपानी समस्या

blog

चरीकोट, असार २३ गते । खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाले दोलखाको दुई पालिकामा करिब दुई हजार धारा निर्माण गरिदिएपछि पानीको समस्या बेहोर्दै आएका स्थानीयवासीले घरआँगनमै पानी प्रयोग गर्न पाएका छन् । 

पहिलो र दोस्रो चरणमा पालिका, उपभोक्ता श्रमदान र वाटर एड नेपालको गरी १२ करोड ५३ लाख ५५ हजार रुपियाँको लागतमा शैलुङ गाउँपालिकामा ७५५ र कालिञ्चोक गाउँपालिकामा ६९४ गरी एक हजार ४४९ वटा धारा निर्माण भएपछि छ हजार ४३९ घरपरिवार लाभान्वित भएका छन् । 

वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) दोलखाले सञ्चालन गरेको उक्त परियोजनाअन्तर्गत दोस्रो चरणमा शैलुङ गाउँपालिकामा ९१ लाख तीन हजार रुपियाँको लागतमा ६७ वटा धारा निर्माणाधीन अवस्थामा रहेका सीडीएफका इन्जिनियर निर्देशक प्रेमप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

कहिलेकाहीँ त खोलाको धमिलो पानी पाइन्थ्यो, त्यही पनि लिएर आउनै  पथ्र्यो, पिउनै पथ्र्यो । एक गाग्री पानीले पु-याउनु पथ्र्यो

लामो समयदेखिको घण्टौँ लगाएर पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेपछि कालिञ्चोक गाउँपालिका–१, क्याम्पलकी उपभोक्ता ८८ वर्षीया मङ्गली थामीले अतीतका दुःख स्मरण गर्दै भन्नुभयो, “घण्टौँ लगाएर पानी लिन जानुपर्ने बाध्यता अब हटेको छ । अहिले आफ्नै घरआँगनमा पानी आएपछि धेरै खुसी लागेको  छ ।” 

पानीको अभाव हुँदा यहाँका महिलाले पुरुषको भन्दा बढी समस्या झेल्नुपरेको थियो । उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “राति जाँदा पनि १० बजेतिर पालो आउँथ्यो कहिलेकाहीँ त खोलाको धमिलो पानी पाइन्थ्यो, त्यही पनि लिएर आउनै पथ्र्यो, पिउनै पथ्र्यो । एक गाग्री पानीले पु-याउनु पथ्र्यो ।” 

अहिले घरमै खानेपानीको धारा निर्माण भएपछि खानेपानी बोक्नुपर्ने दैनिकी फेरिएको खुसी व्यक्त गर्दै ६६ वर्षीय लालबहादुर थामीले भन्नुभयो, “घरबाट टाढाको खोलाको पानी बोकेर पिउनु पथ्र्यो । अब पानीको हाम्रो समस्या टरेको छ ।” 

खानेपानी योजनालाई सुचारु, दिगो, भरपर्दो र पारदर्शी बनाउनका लागि मर्मत कोषको व्यवस्थासमेत गरिएको छ । उपभोक्तालाई सचेतना तालिम दिनुका साथै प्राविधिकसमेत व्यवस्था भएको सीडीएफका निर्देशक अधिकारीले जानकारी दिनुभयो ।