• ८ मंसिर २०८२, सोमबार

सुनसान बन्यो कोशी पर्यटन वर्ष

blog

फाइल फोटो

रङ्गेली समाचारदाता

विराटनगर, मङ्सिर ८ गते । चालु आर्थिक वर्ष २०८२/८३ लाई कोशी पर्यटन वर्ष मनाउने प्रदेश सरकारले घोषणा गरे पनि चार महिना बितिसक्दा पनि सुनसान छ । तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रमा २०८१ चैत ३० गते पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिएको थियो । त्यसयता पर्यटन वर्षसँग सम्बन्धित कार्यक्रम हुन सकेका छैनन् । कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयमा चालु आर्थिक वर्षका लागि १० करोड रुपियाँ रकम पर्यटन वर्ष २०८२ का लागि विनियोजन भएको छ । विभागीय मन्त्रीको नेतृत्वमा पर्यटन व्यवसायीसमेत सम्मिलित निर्देशन समिति गठन गरिएको छ । पर्यटन वर्षसँग सम्बन्धित कुनै पनि कार्यक्रम अहिलेसम्म आयोजना गर्न नसकिएको निर्देशन समितिका सहसंयोजक तथा पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठको गुनासो छ । 

पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव तथा पर्यटन महाशाखा प्रमुख कृष्णकुमार न्यौपानेका अनुसार कोशी पर्यटन वर्ष २०८२, व्यवस्थापन कार्यविधिमै त्रुटि भएकाले समस्या उत्पन्न भएको हो । यो कार्यविधि अनुसार पर्यटन वर्ष २०८२ सञ्चालनका लागि तीन तहको परिकल्पना गरिएको छ । जसमा सचिवालय, व्यवस्थापन समिति र निर्देशन समिति छ । मन्त्रालयभित्रै तीन तहको समितिले निर्णय गर्नुपर्ने भएपछि यसले झन्झट थपेको छ । संशोधन गर्दासमेत ५० प्रतिशतभन्दा बढी सुधार गर्नुपर्ने देखिएकाले नयाँ कार्यविधि बनाउनुपर्ने उपसचिव न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अहिले मुख्यमन्त्री कार्यालयमा नयाँ कार्यविधि पठाइएको छ । त्यसबाहेक आर्थिक र आन्तरिक मामिला मन्त्रालयमा सहमतिका लागि जानुपर्ने हुन्छ । यसो गर्दा शुभारम्भ गरिएको कोशी पर्यटन वर्ष बढ्नेमा आशङ्का निजी क्षेत्रले गरेका हुन् । ‘कोशीको गौरव, हिमालको सान : पर्यटन वर्षमा सबैलाई सम्मान’ पर्यटन वर्ष २०८२ को नारा तय भएको थियो । गत भदौको जेनजी आन्दोलनपछि भारतबाट आउँदै गरेका पर्यटकसमेत अहिले आउन छोडेको व्यवसायी बताउँछन् । भारतमा नेपाल असुरक्षित रहेको सन्देश गइरहेको छ, सहसंयोजक तथा पर्यटन व्यवसायी श्रेष्ठले भन्नुभयो, त्यसलाई चिर्न नेपालका पर्यटन व्यवसायी त्यहाँ पुग्न पर्दथ्यो तर जान सकिएन । श्रेष्ठका अनुसार पुरानो कार्यविधिमा टेकेर खर्च गर्न नमिल्ने स्थिति रहेको छ । अझै भारतमा गएर प्रदेश सरकारमातहतका कुनै पनि निकायले कार्यक्रम गर्दा भुक्तानी नपाइने प्रावधान ऐन, नियमावली र कार्यविधि रहेको उहाँको भनाइ छ । 

उपसचिव न्यौपानेका अनुसार जेनजी आन्दोलनले पनि अन्योलता बढाइदिएको छ । मन्त्रालयमा आगजनी भएको छ । त्यसको व्यवस्थापन गर्नमै असोज र कात्तिक खर्चनु परेको हो । जेनजी आन्दोलन अगाडि कार्यविधिमा भएका असजिला टुङ्ग्याउन सकेको भए अब हिउँद लागेपछि अभियान सुरु गर्न सहज हुने विश्वास उहाँको छ । 

कोशी पर्यटन वर्षलाई अझै पनि अगाडि बढाउन सक्ने सम्भावना रहेको श्रेष्ठको बुझाइ छ । त्यसका लागि कार्यविधि संशोधन सकाएर आगामी फागुन २१ अगाडिसम्म प्रचारप्रसार तीव्र पार्ने र त्यसपछि चैत, वैशाख र जेठमा पर्यटक भित्र्याउन सकिने बुझाइ छ ।