गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ८ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले रुपन्देहीस्थित अर्घाखाँची सिमेन्ट कम्पनी र त्रिरुपति फुड प्रोसोसिङ इन्डस्ट्रिजलाई जरिबाना गरेको छ । केन्द्रबाट गएको विभागको अनुगमन टोलीले तीन कम्पनीको अनुगमन गर्दा सरकारले तोकेको मापदण्डविपरीत सामान उत्पादन गरेको पाइएपछि दुवै उद्योगलाई दुई लाख पाँच हजार रुपियाँको दरले जरिबाना गरेको छ ।
विभागले आइतबार जारी गरेको विज्ञप्तिका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ मा भएको व्यवस्था अनुरूप कारबाही गरेको जनाएको छ । विभागले पछिल्ला दिनमा उपत्यकामा सञ्चालित खानेपानीका उद्योगकेन्द्रित अनुगमनलाई थप तीव्र पारेको जनाएको छ ।
उपत्यकामा पिउने पानीको गुणस्तरमा समस्या देखिएको गुनासो बढेपछि विभागले खानेपानी उद्योगकेन्द्रित अनुगमनलाई पनि तीव्रता दिएको छ । विभागका अनुसार बिहीबार र आइतबार काठमाडौँ उपत्यकाका १८ वटा पानी उद्योगमा अनुगमन भएको छ । सो क्रममा ललितपुरको गोदावरीस्थित त्रिपुरा बेभरेज र बडीखेल खानेपानी उद्योग दर्ता नवीकरण नगरी सञ्चालन भएको पाइएकाले तीन दिनभित्र आवश्यक कागजात लिएर उपस्थित हुन विभागले निर्देशन दिएको छ ।
विभागले यसअघि कोशी मिनरल वाटर उद्योग, स्तूपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड बेभरेजलगायतलाई गुणस्तर कायम गर्न निर्देशन दिएको जनाएको छ ।