• १२ पुस २०८१, शुक्रबार

कर्मचारी अभावमा सेवा प्रभावित

blog

दोलखा समाचारदाता 

चरीकोट, असार २३ गते  । जिल्ला प्रशासन कार्यालय दोलखामा कर्मचारी अभाव हुँदा सेवाग्राहीले समयमा सेवा पाउन सकेका छैनन् ।कार्यालयका प्रमुख पाँच फाँटमा काम गर्ने नायब सुब्बा नहुँदा सेवा प्रदानमा सहज बनेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बताउनुभयो । 

उहाँका अनुसार प्रशासन, मुद्दा, राहदानी तथा जिन्सी, नागरिकता तथा प्रतिलिपि, अभिलेखलगायतका पाँच नायब सुब्बा दरबन्दीमध्ये एक जना मात्र हुनुहुन्छ । सबै फाँटको काम एक जनाले भ्याउनुपरेको छ । खरिदार तीनमध्ये दुई खाली छ । कम्प्युटर अपरेटरहरू सिँगटी इलाका कार्यालय र कारागार शाखाबाट तानेर काम चलाउनुपरेको छ । पदपूर्तिका लागि माथिल्लो निकायमा बारम्बार ताकेता तथा आग्रह भइरहेको छ । लोकसेवा आयोगबाट नयाँ नआएसम्म अर्को व्यवस्था हुन नसक्ने जवाफ आएको उहाँले गुनासो गर्नुभयो । 

नयाँ र प्रतिलिपि गरी दैनिक १६० वटा नागरिकता बन्ने गरेका छन् । राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने त्यत्तिकै हुन्छन् । राष्ट्रिय परिचयपत्र नबनी राहदानी नपाउने व्यवस्थाले गर्दा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या पनि उत्तिकै छ । राष्ट्रिय परिचयपत्रका लागि पुरानो नागरिकताले काम नदिने हुँदा प्रतिलिपि लिने सङ्ख्या पनि बढ्न थालेको उहाँले स्पष्ट पार्नुभयो । 

सहजताका लागि टोकनको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “बिहानदेखि नै लाम लाग्ने गर्दछ । सहजका लागि ५ बजेपछि पनि सबै सेवा प्रदान गरिएको छ । कहिले त राति ८ बजेसम्म पनि सेवा दिने गरिएको छ । परिश्रमका साथ आएकालाई सेवा दिएरै पठाउने गरिएको छ ।”