• ७ मंसिर २०८२, आइतबार

बन्दीपुर भ्रमण वर्ष : आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

blog

बन्दीपुर महोत्सव र भ्रमण वर्षको उपलक्ष्यमा बन्दीपुरमा गरिएको पत्रकार सम्मेलन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर ७ गते ।
तनहुँको ऐतिहासिक तथा सांस्कृतिक पहाडी बस्ती बन्दीपुरले भ्रमण वर्षलाई लक्षित गर्दै आठ लाख पर्यटकलाई आकर्षित गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।

हालसम्म पाँच लाखभन्दा बढी पर्यटकले बन्दीपुर क्षेत्र अवलोकन गरिसकेका बेला मङ्सिर १० देखि २१ गतेसम्म आयोजना हुने छैटौं बन्दीपुर महोत्सवले पर्यटन प्रबद्र्धनमा थप टेवा पु¥याउने अपेक्षा गरिएको हो । शनिबार बन्दीपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुर बजारमा मात्रै भीड केन्द्रित हुने अवस्थालाई गाउँ–गाउँसम्म फैलाउँदै सम्पूर्ण क्षेत्रलाई पर्यटन–मैत्री बनाउने उद्देश्यले भ्रमण वर्ष सुरु गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार बन्दीपुरका छ वटै वडामा पर्यटक पु¥याउन सडक स्तरोन्नति, सिंढीमार्ग निर्माण तथा उज्यालो बन्दीपुर कार्यक्रममार्फत सहज पहुँच र वातावरण निर्माण भइरहेको छ । दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, रामकोट, धरमपानी, रानीवन, मणिमुकुन्द–दरबार क्षेत्रलगायतका स्थानमा पुग्ने आगन्तुकहरूलाई ग्रामीण जीवनशैली, स्थानीय कला, संस्कृति र होमस्टेको अनुभव दिलाउने उद्देश्यले गाउँ–स्तरमा संरचना तथा सेवा विस्तार गरिएको छ ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले बन्दीपुर बजार मात्र नभई आसपासका पर्यटकीय सम्पदा पनि समानरूपमा चिनाउने लक्ष्य राखिएको बताउनुभयो । समग्र पूर्वाधार, सेवा–सुविधा र पर्यटन व्यवस्थापनमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । महोत्सव मुल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाईका सभापति घनश्याम भुषालले कृषि उत्पादन र पशुपालनलाई बजारसँग जोडेर कृषकलाई प्रत्यक्ष फाइदा पुग्ने महोत्सव आयोजना गरिएको बताउनुभयो ।

स्थानीय उत्पादन, हस्तकला, कला–संस्कृति र पर्यटन प्रवर्धनलाई एउटै थलोमा प्रदर्शन गरिने उहाँको भनाइ थियो । तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठले बन्दीपुर नेपालकै आकर्षक पहाडी गन्तव्यका रूपमा स्थापित भइरहेको र बन्दीपुर भ्रमण–२०२५ ले स्थानीय व्यापार तथा होमस्टे व्यवसायमा नयाँ ऊर्जा भर्ने बताउनुभयो ।

बन्दीपुर क्याम्पसका प्रमुख बिक्रम पियाले पर्यटन विस्तारले स्थानीय रोजगारी सिर्जना, उद्यम विकास र जीवनस्तर गउषित गर्ने बताउँदै भ्रमण वर्ष समुदायमुखी विकासको अवसर भएको उल्लेख गर्नुभयो । पर्यटन प्रवर्धनकै क्रममा आगामी माघ महिनामा अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगिता आयोजना गरिने जानकारी बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले दिनुभयो ।

काठमाडौँ, पोखरा र सौराहाजस्ता प्रमुख पर्यटकीय केन्द्रको त्रिकोणमा अवस्थित बन्दीपुर पुराना घर–आवास, भक्तपुरे शैलीका संरचना, टुँडिखेल, थानीमाई, रानीवन, रामकोट, सुनखरी, खड्देवी र महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ र चट्टान आरोहणजस्ता आकर्षणका कारण पछिल्ला वर्षहरूमा पर्यटकसँग लोकप्रिय बन्दै आएको छ । डुम्रेबाट नागबेली सडकमार्फत नौ किलोमिटरको यात्रा गरी पुगिने बन्दीपुरमा हालसालै सञ्चालनमा आएको केवलकारले पहुँच थप सहज बनाएको छ ।

२०२५ सालमा जिल्ला सदरमुकाम दमौलीतर्फ स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटनको विस्तारसँगै फेरि चहलपहलले भरिएको छ । स्थानीय व्यवसायी, सञ्चालक र समुदायसँगको साझेदारीमा अघि बढाइएको यस वर्षको भ्रमण अभियानले बन्दीपुरलाई दीर्घकालीन रूपमा थप बलियो पर्यटकीय केन्द्र बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।