• ७ मंसिर २०८२, आइतबार

थपिएका मतदाता अधिकांश युवा

blog

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), मङ्सिर ७ गते । जिल्ला निर्वाचन कार्यालय बर्दियामा नयाँ मतदाता थपिने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म दुई हजार ४०८ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हाल जिल्लामा थपिएका मतदाता अधिकांश युवापुस्ताका रहेका छन् । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रबाट सिधै मतदाता नामावलीमा दर्ता गर्न सकिने व्यवस्था गरेपछि आवेदन दिनेको सङ्ख्या बढेर पाँच हजार ३४६ पुगेको छ ।  

गत असोज १० यता निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा तस्बिर खिचाउनेमा एक हजार ११७ महिला र एक हजार २९१ पुरुष रहेका छन् । निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले निर्वाचन कार्यालयमा आएर तस्बिर खिचाएका मतदाताको नामावलीमा नाम दर्ता भइसकेको र राष्ट्रिय परिचयपत्रबाट जोडिएका मतदाताको रुजु गर्न बाँकी रहेको बताउनुभयो । उहाँले रुजु गरेपछि वास्तविक तथ्याङ्क आउने पनि जानकारी दिनुभयो । 

निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले राष्ट्रिय परिचयपत्रसँग जोडिएर मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रविधि ल्याएपछि कार्यालयमा भिड कम हुँदै गएको बताउनुभयो । बर्दियामा असोज १० भन्दा अगाडि बर्दिया जिल्लामा पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार २३३ र अन्य छ जना गरी तीन लाख १७ हजार ३३४ जना मतदाता थिए ।