• ७ मंसिर २०८२, आइतबार

अलपत्र चिदिचौर खेलमैदानको निर्माण कार्य तीव्र

blog

आकर्षक र व्यवस्थितका लागि निर्माण भइरहेको चिदिचौर खेलमैदान । तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, मङ्सिर ७ गते ।
गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित चिदिचौर खेलमैदान केहि समय अलपत्रजस्तै बन्यो । चिदिचौर खेलमैदानलाई व्यवस्थित र आकर्षक बनाउनका लागि काम सरुभएको केहि समयपछि काम रोकिँदा अलपत्र बनेको थियो । अहिले कहि दिनदेखि यहाँको काम पुनः तीव्र रुपमा अगाडि बढेको छ ।

विशेषगरी निर्माण व्यवसायीको लापरवाहीका कारण काम रोकिँदा केहि समय चिदिचौर खेलमैदान अलपत्र जस्तै परेको बताइएको छ । स्थानीय क्लबले विभिन्न समयमा यस खेलमैदानमा फुटबल, क्रिकेट र भलिबललगायतका विभिन्न प्रतियोगिताको आयोजना गर्ने गर्थे। यस खेलमैदानमा स्थानीय विद्यालयका विद्यार्थीहरु पनि खेलमैदानमा खेल सिक्न आउने गरेका थिए । अहिले खेलमैदानलाई व्यवस्थित गर्न लागिएको हुँदा कुनै प्रतियोगता हुन नसकेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार रेसुङ्गा नगरपालिकाले चिदिचौर खेलमैदानलाई व्यवस्थित र आकर्षक बनाउन निकै पहल गरेको छ । सोही अनुसार यहाँ काम चलिरहेकै अवस्थामा केहि समय रोकिँदा अलपत्र जस्तै बनेको थियो । निर्माण व्यवसायिले सुरुमा अलि–अलि सानो खाडल र नाली खन्यो, गिट्टी र पाइप पनि लिएर राख्यो । केहि समय काम रोकिएपछि अलपत्र भएको हो । चिदिचौर खेलमैदानमा वर्षाको समयमा पानी उम्रने हुँदा पहिलेदखि नै समस्या हुने गरेको थियो ।

त्यस्तै, बिचैमा निर्माण व्यवसायीले काम रोक्दा वर्षाको समयमा यस मैदान पानीको ताल बनेको थियो । उक्त पानीलाई जमिनमुनि नै व्यवस्थित गर्ने र त्यसपछि मलिलो माटोले समथर बनाएपछि दूबो रोप्ने योजनासहित चिदीचौर खेलमैदानलाई व्यवस्थित र आकर्षक बनाउन बहुवर्षीय ठेक्काका रूपमा लुम्बिनी प्रदेश सरकारबाट बजेट सुनिश्चत गरिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

पटक–पटकको पहलपछि चिदीचौर खेल मैदानको सौन्दर्यीकरणको काम अगाडि बढेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीले निकै दुःख दिएको थियो । धेरै समय ताकेता गर्दा पनि काम नहुँदा आफै काठमाडौँ पुगेर पनि आग्रह गरेको सुनाउनुभयो । धेरै मिहिनेतपछि केही दिनदेखि काम निरन्तर भएको भएको छ ।

लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत चिदीचौर खेलमैदान व्यवस्थित गर्नका लागि एक करोड रुपियाँ लागतमा गत वैशाख अन्तिम साता रामेछाप कन्ट्रक्सन काठमाडौँ निर्माणको जिम्मा पाएको हो । २०८३ असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको बताइएको छ ।