तिलाचन पाण्डे
तम्घास(गुल्मी), मङ्सिर ७ गते । तम्घास सडकमा खाल्टै खाल्टै भएका कारण ज्यानै जोखिममा राखी सवारी चलाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
गत पुस २८ गते गोरखापत्र दैनिक र अनलाइनमा ‘खाल्टाका कारण आवागमनमा असहज’ शीर्षकमा समाचार प्रकाशन भएपछि सरोकारवालाको ध्यान गएको थियो । उक्त समाचार प्रकाशन भएपश्चात रेसुङ्गा नगरपालिका वडा नम्बर ९ को विद्युत, नापी र मालपोत कार्यालय जाने सडक अहिले स्तरउन्नतीसँगै कालोपत्रे भएको छ ।
कुल ५१२ मिटर सडक स्तरउन्नतीसँगै कालेपत्रे भएको वडा नम्बर ९ का वडा अध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिनुभयो । शहरी विकास मन्त्रालयबाट उक्त कार्यका लागि बजेट सुनिश्चित पश्चात काम भएको उहाँको भनाइ छ । उक्त सडक नालीसहितको ६ मिटरको रहेको छ ।
सदरमुकाम तम्घासकै सडकमा लामो समयदेखी रहेका खाडलहरु मर्मत नहुँदा सास्ती खेप्नुपरेको र अहिले चिटिक्कको बाटो हुँदा यहाँका स्थानीय खुसी छन् । स्थानीय सुरेश मरासिनीले स्तरउन्नतीसँगै कालोपत्रे भएको सडकमा कुनै खोट लगाउने ठाउँ नरहेको बताउनुभयो । पहिले विद्युतचोकदेखि विद्युत कार्यालयसम्मको सडकमा खाल्डैखाल्डा भएकाले मोटरसाइकल चलाउन पनि समस्या हुनुका साथै दुर्घटनाको जोखिम रहेकोमा अहिले उक्त समस्या नरहेको उहाँको भनाइ छ ।
स्थानीय किशोर मरासिनीले सडक स्तरउन्नतीसँगै कालोपत्रे भए पनि हिलो र धुलोबाट मुक्त भएको बताउनुभयो । सडकलाई सफा र सुरक्षित राख्नका लागि स्थानीयहरुको ठुलो हात रहने भएकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
पहिले घर अगाडि खाल्टामा हिलोसहितको पानी जम्मा हुने र सवारी आउँदा जाँदा उक्त जम्मा भएको पानी घरमा आउँदा थप समस्या झेल्नुपरेको यहाँका स्थानीयहरुले बताउँदै आएका थिए ।