• ७ मंसिर २०८२, आइतबार

सवारी दुर्घटनामा परी समाजसेवी न्यौपानेको मृत्यु

blog

समाजसेवी स्व. राममणी न्यौपाने ।

वसन्त पराजुली
नारायणगढ, मङ्सिर ७ गते । 
समाजसेवी राममणी न्यौपाने सवारी दुर्घटनामा परी निधन हुनुभएको  छ ।  उहाँ सवार बा१८च८९७३नं.को बलेरो कालिका नगर पालिका वडा नम्बर ११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा शनिबार राति १०ः३० बजे  दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता रविन्द्र खनालका अनुसार बलेरो न्यौपाने आफैँले चलाउनुभएको थियो ।

खैरहनी नगर पालिका वडा नम्बर ४ बस्ने वर्ष ६२ का न्यौपानेको दुर्घटनापछि शरीरको विभिन्न भागमा चोट लागेको थियो । उहाँलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याइए पनि बचाउन नसकिएको बताइन्छ ।  उहाँलाई राति १०ः५२ बजे चिकित्सकले मृत घोषणा गरेको थियो ।

सिद्धिबाट कल्याण चौर तर्फ जाँदै गरेको बलेरो आफैँ अनियन्त्रित भई सडकदेखि  करिव १५० मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसका स्थानीय नेता समेत रहनुभएको  न्यौपाने यस अघि प्रदेश सभा सदस्यमा वागी उमेदवार हुनुहुन्थ्यो । उहाँ स्थानीय सामुदायिक वनको पूर्व अध्यक्ष, रेडक्रसमा सक्रिय भूमिकामा हुनुहुन्थ्यो । व्यवसायिक मौरी पालक किसान समेत रहनुभएको उहाँ रोटरी क्लवमा पनि आवद्ध हुनुहुन्थ्यो ।

स्थानीय जनताका दुःखसुखका नेता तथा खैरेनीलाई पर्यटकीय क्षेत्र बनाउन अतुलनिय देन दिनुभएका न्यौपानेको निधनले सिङ्गो गाउँ स्तब्ध छ ।