दोलखा समाचारदाता
दोलखा, मङ्सिर ७ गते । गोरखापत्र संस्थानद्वारा आयोजित दुईदिने ‘पर्यटनका लागि साहित्य : गोरखापत्र साहित्य सम्मेलन सम्पन्न’ भएको छ । शुक्रबार र शनिबार पर्यटन प्रवर्धनका लागि समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइको धार्मिक एवं पर्यटकीय स्थल शैलुङमा कविता वाचनसहित सम्मेलन सम्पन्न भएको हो ।
सो सम्मेलनमा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले स्थानीय सर्जकसमेतलाई लेखनमार्फत अभिलेखीकरण गर्न र शैलुङमा बत्ती बाल्न खोजिएको बताउनुभयो । “अबको पत्रकारिताले समयसापेक्ष जनजीवनलाई जोड्नु पर्छ,” उहाँले भन्नुभयो, “साहित्य विकासमा ऐतिहासिक महत्वका स्थललाई विकसित हुने वातावरण सिर्जना हुनु पर्छ । यो धार्मिक एवं पर्यटकीय स्थललाई यो कार्यक्रमले विश्वसामु पुर्याउने अपेक्षा छ । सञ्चार माध्यमले अब सिर्जनात्मक पत्रकारिता पनि गर्नु पर्छ ।” महाप्रबन्धक ऐरीले समाज र पत्रकारिता प्रत्यक्ष जोडिनु पर्छ र पत्रपत्रिकाप्रति विश्वास घट्दै गइरहेकाले यस्ता कार्यले सङ्कुचन कम हुने पनि बताउनुभयो ।

सो सम्मेलनमा सुवासचन्द्र पौडेल, लक्ष्मी ढकाल, रञ्जना निरौला, अमरदीप सुनुवा, विमुख पौडेल, राजुकुमार महत, किशोरी पहाडी, लक्की चौधरी, बालकृष्ण थपलिया, अमर बान्तुक, तारा बिएम, रञ्जना थपलिया, दीपशङ्कर चौलागाईं, सुशीला शर्मा, विष्णुबहादुर बस्नेत, सुशीला खडका, जानुका राई, नन्दु उप्रेती, तीर्थ अधिकारी, अमृता विक, दीपिका केसी, जानकी श्रेष्ठलगायतले कविता वाचन गर्नुभएको थियो । गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतको सभापतित्वमा भएको सम्मेलनमा दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, शैलुङ गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर तामाङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसबिच गोरखापत्र संस्थानका प्रकाशनहरू शैलुङकै वडा नम्बर ४ मा रहेको दुर्गा माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्दै संस्थानका महाप्रबन्धक ऐरीले भन्नुभयो, “अब संस्थान शैक्षिक रूपान्तरणमा पनि अग्रसर भएको छ ।” विद्यार्थी तथा शिक्षकका लागि अध्ययन गर्न संस्थानका प्रकाशनहरू पुस्तकालयमा राख्न निरन्तर पठाइदिने र अन्य दातासँग पनि समन्वय गरिदिने भएको छ ।