• ७ मंसिर २०८२, आइतबार

अलैँची निर्यातमा राजस्व ठगी

वास्तविक मूल्यभन्दा आधा कमको बिल

blog

शशिधर पराजुली 

विराटनगर, मङ्सिर ७ गते । ‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट नेपालले ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गरिरहेको छ तर यसको आडमा नजानिँदो ढङ्गबाट करोडौँ रुपियाँ राजस्व अपचलन हुने गरेको तथ्य फेला परेको छ । 

किसानले प्रतिमन (४० किलो) एक लाख रुपियाँभन्दा बढी मूल्य पाइरहेको अलैँची निर्यात गर्दा व्यापारीले वास्तविक मूल्यभन्दा आधा कमको बिल (न्यून बीजकीकरण) बनाउने गरेको भन्सार विभागको तथ्यबाट फेला परेको छ । यसले गर्दा नाफामा लाग्ने करोडौँ रुपियाँको आयकर सिधै छली हुनुका साथै निर्यातबाट प्राप्त हुने अतिरिक्त मुद्रा अवैध मानिएको हुन्डीमार्फत ल्याइने गरेको समेत पाइएको छ । यसले अलैँची निर्यातसँगै अवैध कारोबारले पनि प्रश्रय पाइने गरेको देखिएको छ । 

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिना (असोज मसान्तसम्म) को तथ्याङ्कले यो आर्थिक अपचलनको अवस्था देखिएको हो । यस अवधिमा नेपालबाट एक हजार ७२ टन अलैँची भारत निर्यात भएको छ, जसको भन्सार घोषणा मूल्य एक अर्ब ६७ करोड ९१ लाख ५७ हजार रुपियाँ उल्लेख गरिएको छ । यस हिसाबले प्रतिकिलो अलैँचीको निर्यात गर्दा एक हजार ५६६ रुपियाँको बिल जारी भएको देखिन्छ ।

यही अवधिमा किसानले भने प्रतिमन न्यूनतम ९० हजार रुपियाँदेखि एक लाख सात हजार रुपियाँसम्म पाइरहेका छन् । जसको सरदर मूल्य दुई हजार पाँच सय रुपियाँभन्दा बढी हुन जान्छ तर निर्यातकर्ताले यस अवधिमा एक हजार ५६६ रुपियाँका दरले भारत निर्यात गरेका कारण आयकरमा प्रभाव पर्ने देखिएको हो । जानकार स्रोतका अनुसार यसले निर्यातकर्ताले गर्ने नाफाको झन्डै ३० प्रतिशत राजस्व छलि हुने गरेको छ । 

त्यति मात्र होइन बिलभन्दा बढी हुने मूल्यबाट प्राप्त गर्नुपर्ने रकम हुन्डीबाटै ल्याउनुपर्ने अवस्थासमेत देखिएको छ । भारतीय भन्सारका कारण भारतीय व्यापारीले वास्तविक खरिद मूल्यको बिल लिन नमान्दा बाध्यतावश न्यून बीजकीकरण गर्नु परेको एक व्यवसायीले बताउनुभएको छ । भन्सारमा कम मूल्य देखाए पनि भारतीय व्यापारीले प्रतिमन एक लाख २० हजार रुपियाँभन्दा बढीमा अलैँची खरिद गर्ने गरेको उहाँको भनाइ छ । 

राजस्व अनुसन्धान कार्यालय, इटहरीका एक कर्मचारीले भन्नुभयो, “आयकर छल्नकै लागि न्यून बीजकीकरण भएको हुन सक्छ नत्र धेरैमा किनेर थोरैमा बेच्नुपर्ने बाध्यता किन आउँछ ।” 

गत आव २०८१/८२ मा नेपालबाट सात अर्ब ६८ करोड ३७ लाख रुपियाँ बराबरको चार हजार तीन सय टन अलैँची निर्यात भएको थियो । उक्त समयमा किसानले पाएको मूल्य र निर्यात मूल्यमा तात्विक भिन्नता थिएन तर यस वर्ष किसानले राम्रो मूल्य पाएर खुसी भइरहेको भए पनि देशले भने राजस्व गुमाउन पुगेको छ । अर्कोतर्फ अलैँची खरिदकर्ताले अधिकांश किसानलाई नगदमै भुक्तानी दिने गरेका छन् । यसले पनि अलैँची कारोबारमा राजस्वको चलखेल हुने गरेको कुरालाई नै बल पु¥याउने गरेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत अर्जुन राईले अलैँची निर्यातबाट आयकर छलिएको विषय आफ्ना लागि नयाँ कुरा भएको बताउनुभयो । उहाँले अवास्तविक मूल्यमा कारोबार हुनु गम्भीर विषय भएको पनि बताउनुभयो । 

नेपालबाट अलैँची निर्यात हुने मुख्य नाका काँकडभिट्टा भन्सार कार्यालयले भने निर्यातकर्ताले घोषणा गर्ने मूल्यलाई नै कार्यालयले आधार मान्ने जनाएको छ । कार्यालयका प्रमुख हरिहर पौडेलले भन्नुभयो, “अलैँची वा अन्य जुनसुकै वस्तु निर्यात गर्दा निर्यातकर्ताले स्वघोषणा गर्ने मूल्य नै भन्सार कार्यालयले रेकर्डमा राख्ने गरेको छ ।” बजारमा बढी मूल्यमा कारोबार भएको सुनिए पनि स्वघोषित मूल्याङ्कनलाई नै आधिकारिक मान्ने गरेको उहाँले बताउनुभयो ।     

नेपालमा उत्पादित अलैँचीले विश्वको ६० प्रतिशत बजार ओगटेको छ । नेपालबाट ९५ प्रतिशतभन्दा बढी भारतमा निर्यात हुन्छ भने बाँकी तेस्रो मुलुकमा जाने गरेको छ ।