• ७ मंसिर २०८२, आइतबार

देउराली–रेसुङ्गा विमानस्थल सडक कालोपत्रे अन्तिम चरणमा

blog

कालोपत्रे देउराली–रेसुङ्गा विमानस्थाल सडक । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), मङ्सिर ७ गते ।
सालझण्डी–खर्ज्याङ–तम्घास सडकखण्डअन्तर्गतको देउराली–रेसुङ्गा विमानस्थल सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा रहेको छ । ४.५ किलोमिटर कालोपत्रे सडक निर्माणको सम्झौता इन्द्रा. एम.के जेभी ललितपुरले पाएको थियो । सडक स्तरोन्नती भए पनि रोकिएको कालोपत्रेको कामले तम्घास देउरालीदेखि विमानस्थलसम्मको सडक धुलाम्य हुँदा स्थानीयले सास्ती खेपेका थिए ।

विमानस्थल प्रयोग गर्ने नागरिकलाई मात्र नभएर देउराली हुँदै खर्ज्याङ–रिडीबाट बुटवल पुग्न पनि छोटो र सजिलो भएको छ । पाल्पा वुटवलका लागि फराकिलो र पक्की सडक भएकाले रिडी–तम्घास मदनभण्डारी राजमार्गको विकल्प देउराली–खज्र्याङ–रिडी सडक हो । यो सडक निर्माणको निरन्तर निगरानी गरिरहनु भएका रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले कामको सक्रियता र गुणस्तरियता राम्रो भएको बताउनुभयो ।

सघन सहरी तथा भवन निर्माण आयोजना, पाल्पा मार्फत कुल ३० करोडका विभिन्न प्याकेजमा कालोपत्रे तथा ढलानका काम भइरहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, पाल्पाका इन्जिनीयर घनश्याम यादवका अनुसार देउराली–बिमानस्थल बाहेक देउरालीदेखि अर्घाखाँची जिपपार्क, उपल्लो तम्घास, बाख्रेछेडादेखि बागमारे बेरियर, खोरपाटा पन्थीटोल अर्खले, सिस्नेहार नेटा, भुवनपानी, चिल्ड्रेन पार्क, अर्घाखाँची र उदिनढुङ्गा जिपपार्कमा कालोपत्रे तथा ढलानको काम भइरहेको छ । अहिलेसम्म ८० प्रतिशत भौतिक र ७५ वित्तीय प्रगती भएको इन्जिनीयर यादवले जानकारी दिनुभयो ।