अमृतप्रसाद पौडेल
म्याग्दी, मङ्सिर ७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरेर थालिएको मतदाता नामावली सङ्कलन तथा अध्यावधिकमा म्याग्दीमा दुई हजार दुई सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा निर्वाचन कार्यालयमै पुगेर बायोमेट्रिक्स गरी आठ सय १९ र राष्ट्रिय परिचयपत्र मार्फत एक हजार चार सय १८ मतदाता गरी कुल दुई हजार दुई सय ३७ जना नयाँ मतदाता थपिएका हुन् ।
जिल्ला निर्वाचन अधिकृत बिमल गौतमले दिनुभएको जानकारी अनुसार जिल्ला कार्यालयमा पुगेर पुरूष पाँच सय १० जना र महिला तीन सय नौ जनाले मतदाता नामावली दर्ता गराएका हुन् । त्यसैगरी ८२ मतदाताको गल्ती सच्चाइएको छ भने एक सय ९० जनाको ठाँउसारी गरिएको थियो ।
निर्वाचन अधिकृत गौतमले भन्नुभयो, ‘‘हामीले निवदेन तथा अन्य प्रक्रियाका लागि बाहिर जाने बाध्यताको अन्त्य गरेका छौँ, उहाँहरुको समय र पैसाको बचत भएको छ ।’’ अन्य जिल्लामा निवेदन सहितको प्रक्रिया साइबर तथा पसलमा गरेर आउँदा मतदाताको खर्च भएको गुनासो आउने गरेको भन्ने सुनिएको थियो ।
म्याग्दीमा नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका धेरै भए पनि वैदेशिक रोजगारीबाट फर्किएका तथा वृद्धवृद्धाले समेत अहिलेसम्म मतदाता नामावली नबनाएको अवस्थाका समेत भेटिएको छ । म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज आठ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार १६ सय मतदाता घटेर ८४ हजार ५२० जना कायम भएको थियो ।
म्याग्दीका ६ वटै स्थानीय तहमा निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थलमा ११९ मतदान केन्द्र सिफारिस गरिएको छ ।