• ७ मंसिर २०८२, आइतबार

कार्गो रेल सम्झौताले पूर्वका उद्योगी उत्साही

blog

नवराज कट्टेल

विराटनगर, मङ्सिर ७ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीले नेपाल–भारत द्विपक्षीय पारवहन सन्धि संशोधनले उद्योग–व्यापारमा सहजीकरणको बाटो खोलेको बताएका छन् । 

बल्क कार्गो रेलसेवा सञ्चालनका लागि संरचना तयार भए पनि पारवहन सन्धिका कारण भइरहेको अवरोध हटेपछि त्यसले सहज बनाएको उद्योगीले बताएका हुन् ।

सन्धि संशोधनसँगै तेस्रो मुलुकबाट आयात हुने सामानसमेत कार्गो रेलबाट विराटनगर–१८ स्थित नेपाल कस्टम यार्डसम्म ल्याउन सकिने छ । उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले पूर्वका उद्योगीले कार्गोरेलबाट सामान ढुवानी हुँदा उत्पादन लागत कम हुने बताउनुभयो । तेस्रो मुलुकबाट आइरन उद्योगका लागि आवश्यक पर्ने कच्चा सोझै भन्सारसम्म ल्याउन पाउँदा पनि धेरै खर्च जोगिने उहाँले बताउनुभयो । “आइरन इन्डस्ट्रिज अन्तर्गतका एचआर सिट, सिआर सिट, इनगट, एमएस वायर रड जस्ता कच्चा पदार्थ आयात गर्दा ढुवानीमा लाग्ने खर्च ४० प्रतिशत कम हुन जान्छ,” उहाँले भन्नुभयो, नेपालकै भन्सारसम्म ल्याउन पाउनु त हरेक कुरामा सहजता हो । 

वीरगन्ज भन्सारसम्म भारतको कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट मालवस्तु बोकेको बल्क कार्गो आउँदा पनि विराटनगरमा त्यस्तो सुविधा उपलब्ध थिएन । संशोधनपछि विराटनगर र भैरहवाका उद्योगीले पनि त्यही सुविधा पाउने आधार बनेको हो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नवीन रिजालले नेपालका व्यवसायीले समुद्रपारका देशबाट समेत अब मालवस्तु ल्याउन सक्ने बताउनुभयो । सन्धिकै कारण सिमेन्ट, क्लिङ्कर, कोइला र रासायनिक मलबाहेकका अन्य बल्क कार्गो ल्याउने स्थिति नभएको अवस्थामा संशोधनले बाटो खोलेको उहाँले बताउनुभयो । अब प्राविधिक विषयमा समेत सरकारी पहल आवश्यक रहेको उहाँको भनाइ छ । प्राविधिक विषय भनेको बथनाहाबाट विराटनगरसम्म कार्गो रेल डाइभर्ट हुने, हेन्डिलिङ र अनलोड शुल्कमा परिमार्जन गर्ने तथा नेपाल रेल विभागले कस्टम यार्डमा कर्मचारी खटाउने हुन् । 

उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सन्धि संशोधनसँगै कार्गो रेल विराटनगर–१८ स्थित नेपाल कस्टम यार्डसम्म आउने वातावरणसमेत बनाउनुपर्ने माग गर्नुभयो । उहाँले अहिले आइसिपीदेखि सात किलोमिटर दुरीमा रहेको भारतको बथनाहा रेलवे स्टेसनमा मालवस्तु ह्यान्डिलिङ र अनलोड हुने गरेको बताउँदै विराटनगरसम्म बल्क कार्गो आएमा ४० प्रतिशत ढुवानी खर्च बच्ने दाबी गर्नुभयो ।