गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ७ गते । सभामुख देवराज घिमिरेले अकुपन्चरले नेपालको वैकल्पिक स्वास्थ्य क्षेत्रलाई बलियो बनाएको बताउनुभएको छ । विश्व अकुपन्चर दिवसका अवसरमा नेपाल अकुपन्चर मोक्सब्युसन एन्ड एकुप्रेसर एसोसिएसन र चाइनिज मेडिसिन डक्टर सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रममा सभाभुख घिमिरेले नेपालमा वैकल्पिक चिकित्सा, प्राकृतिक उपचार तथा अकुपन्चर सेवाको उन्नति र जनस्तरमा विस्तारका लागि लाग्नुपर्ने बताउनुभयो ।
उहाँले अकुपन्चर कुनै वैकल्पिक वा पूरक उपचार मात्र नभई विश्व स्वास्थ्य सङ्गठनद्वारा प्रमाणित र मान्यताप्राप्त चिकित्सा विज्ञान भएको बताउनुभयो । सभामुख घिमिरेले नेपालमा अकुपन्चर सेवा निजी क्षेत्रमार्फत धेरै अगाडि बढेको उल्लेख गर्दै सरकारी तहबाट प्रोत्साहन र संरचनागत विकासका लागि प्रयास सुरु गरिएको बताउनुभयो ।
सरकारी स्तरमा प्रवर्धन अझै अपर्याप्त रहेको भन्दै उहाँले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सहायक जनशक्तिबाट सेवा सञ्चालन भएको, केही सरकारी आयुर्वेद अस्पतालमा सेवा विस्तार भएको जस्ता विषयले भविष्यमा यस क्षेत्रलाई राज्य संरचनाभित्र समेट्ने आशा जगाएको बताउनुभयो ।
निजी क्षेत्रबाट १५ वर्षभन्दा बढी समयदेखि विशेषज्ञ सेवा प्रदान भइरहेकै अवस्थामा सरकारी तहमार्फत सेवा विस्तार गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । अकुपन्चर विशेष गरी नसासम्बन्धी समस्या, दुखाइ, बाथरोग, महिनावारीको पीडा, माइग्रेन, अनिद्रा, नसाका कारण उत्पन्न पिसाबका समस्या तथा प्यारालाइसिस जस्ता समस्यामा अत्यन्त प्रभावकारी विधि मानिने गरिएको बताउनुभयो ।
विश्व अकुपन्चर दिवस कार्यक्रमका संयोजक सुदर्शन बस्नेतले नेपालमा अकुपन्चरसम्बन्धी जनशक्ति बढ्दै गएको बताउनुभयो । कार्यक्रममा चीनबाट आएका अकुपन्चरसम्बन्धी चिकित्सकलाई सम्मान गरिएको थियो । सभामुख घिमिरेले विश्व अकुपन्चर दिवसका अवसरमा स्मारिका पनि विमोचन गर्नुभयो ।
उहाँले सरकारीस्तरबाट अकुपन्चरका दरबन्दी थप गर्नुपर्नेमा जोड दिनुभयो । विश्वभरका वैज्ञानिक, चिकित्सक र शोधकर्ताले ब्राजिलमा सन् २०११ मा आयोजना भएको महत्वपूर्ण सम्मेलनमार्फत नोभेम्बर २२ लाई विश्व अकुपन्चर दिवसका रूपमा मनाउने निर्णय गरे अनुसार बर्सेनि यो दिवस मनाउने गरिएको छ ।