• ६ मंसिर २०८२, शनिबार

बेवारिसे अवस्थामा ११ राउण्ड गोली फेला

blog

बिष्णुप्रसाद पोखरेल 

दमक, मङ्सिर ६ गते । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ११ राउण्ड गोली बेवारिसे  अवस्थामा फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चार हजार राउण्ड गोली लुटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार दमक वडा नं. ७ स्थित मानव सेवा आश्रम नजिकै भित्री सडकमा शुक्रबार बेलुका बेवारिसे  अवस्थामा गोली भेटिएको हो । 

एसएलआरका ५ राउण्ड, इन्सासका  तीन राउण्ड र ३०३ राइफलका तीन  राउण्ड गोली फेला परेको खड्काले जानकारी दिनुभयो ।

आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट २० थान हतियार लुटिएकोमा अहिलेसम्म तीन थानमात्र फेला परेको छ ।

बाँकी १७ थान हतियार खोजी कार्य तीब्र बनाइएको खड्काले जनाउनु भएको छ ।घटनामा संलग्नहरूको पहिचान र खोजी कार्य तीब्र बनाएपछि हतियार र गोली भेटिन थालेको प्रहरीको भनाइ छ । 

यसैगरी, जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका दुई थुनुवालाई प्रहरीले उनीहरूको घरबाट नै पक्राउ गरेको छ । 

लागूऔषध मुद्दाका आरोपी कनकाई–२ का ३३ वर्षीय रमेश मुखिया सुनुवार र कनकाई–३ का ४२ वर्षीय चन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।