• १३ साउन २०८१, आइतबार

व्यायामशालाप्रति आकर्षण बढ्यो

blog

सालझन्डीस्थित खुला व्यायामशालामा अभ्यास गर्दै महिला तथा बालबालिका ।तस्बिरः छविलाल पाण्डे ।

बुटवल, असार २२ गते । रुपन्देही जिल्लाको बुटवल, सैनामैनालगायत विभिन्न १० स्थानमा स्थापना भएका खुला व्यायामशालाहरू शारीरिक तन्दुरुस्ती कायम राख्नेहरूका लागि आकर्षक गन्तव्य बनेका छन् ।  बुटवल उपमहानगरपालिकाले सात र सैनामैना नगरपालिकाले तीन स्थानमा खुल्ला व्यायामशाला निर्माण गरेपछि स्थानीय युवा तथा व्यायामप्रेमीहरूको आकर्षण बढेको हो । ती क्षेत्रमा घुमफिरसँगै कसरत गर्ने र व्यायाम गर्नेहरूको चाप बढ्दै गएको छ । 

पछिल्लो समय प्रायः सबै जना योगप्रति आकर्षित भइरहेको बेला घर नजिक स्थापना भएका यस्ता खुला व्यायामशाला पुगेर तौल घटाउने, शारीरिक तथा मानसिक तन्दुरुस्ती कायम गर्नेहरूका लागि उपयुक्त बनेका छन् । स्थानीय विमल थापा खुला व्यायामशालाहरू शारीरिक मात्र होइन मानसिक तनाव कम गर्ने निकै उपयोगी स्थानका रूपमा लोकप्रिय बन्दै गरेको बताउनुहुन्छ । सैनामैना नगरपालिकाले नगरका विभिन्न तीन स्थानमा खुला व्यायामशालाको निर्माण गरेपछि बिहान बेलुका व्यायाम गर्नेहरूको चाप बाक्लिँदै गएको छ । 

सैनामैनाको वडा नम्बर ११ सालझन्डी, ६ मलमला क्षेत्र र २ बोलबम पार्कमा खुला व्यायामशाला निर्माण गरिएका छन् । यहाँ बिहान, दिउँसो र साँझको समयमा पनि सर्वसाधारण आउने गर्छन् । सालझन्डीकी उमा अर्याल मोटो शरीर र तौल घटाउने चिन्तामा हुनुहुन्थ्यो । तर अगाडि खुला व्यायामशाला निर्माण भएपछि नियमित अभ्यास गर्दै आएको उहाँ बताउनुहुन्छ । यहाँ हात, खुट्टा, कम्मर, घाँटी, ढाड, पेटलगायत शरीरका विभिन्न अङ्गहरूको व्यायाम हुने ११ थरी उपकरण जडान गरिएका छन् । 

खुला व्यायामशाला निर्माणपछि कतिपयको बिहान र साँझको दैनिकी व्यायामशाला आउने र कसरत गर्नेमै वित्ने गरेको छ । सालझन्डीको व्यायामशालामा बालकदेखि वृद्धसम्मका हरेक उमेर समूहका मानिस आफू अनुकूल समय मिलाएर शारीरिक अभ्यास गर्न आउने गर्छन् । 

मलमलास्थित खुला व्यायामशालामा भेटिनुभएका भड्छाका रमेश पौडेल शरीरको मोटोपन कम गर्ने र तन्दुरुस्ती बढाउने उपकरण रहेका कारण आफूजस्ता युवाका लागि राम्रो गन्तव्य बनेको बताउनुहुन्छ । पहिले युवा जिम जान्थे तर अहिले नगरपालिकाले स्थापना गरिदिएका व्यायामशाला गएर उपकरणसँगै रमाउने गरेका छन् । युवा, पाको र मोटो सबै किसिमका व्यक्ति उक्त ठाउँमा आउने गरेका छन् । 

युवा पुस्ता शरीर तन्दुरुस्ती राख्न र वृद्धहरू शारीरिक, मानसिक तथा पाचन प्रक्रियासम्बन्धी समस्या हटाउने अपेक्षाले व्यायामशालामा आउने गरेको बताइएको छ । घर नजिक खुला व्यायमशाला स्थापना भएपछि चुलोचौकोमा व्यस्त हुने महिला समेत साँझ–बिहान व्यायाम गर्न जाने गरेका छन् । उता बुटवल उपमहानगरले तीन वर्षअघिदेखि वडा नं १,  ५,  ६, ७, १०, १२ र १९ गरी सात स्थानमा खुला व्यायामशाला सञ्चालन गरेको छ । ती व्यायामशालामा आउनेलाई प्रशिक्षणको अभाव देखिन्छ । नगरपालिकाले प्रशिक्षकको समेत व्यवस्था गरिदिए व्यायाम गर्न आउनेहरूलाई सजिलो हुने बुटवल दीपनगरका राकेश क्षेत्री बताउनुहुन्छ ।