लोकतन्त्रमा राजनीतिक दल महत्वपूर्ण अङ्ग हो, जसले जनतालाई एकत्रित र सङ्गठित गर्नुका साथै तिनका मुद्दाको प्रतिनिधित्व गर्छ । राजनीतिक दल जनताका विविध भोगाइ, आवश्यकता र आकाङ्क्षाबाट निर्मित सङ्गठित शक्ति हो, जसले जनतालाई चिन्नु पर्छ र जसलाई जनताले पनि चिन्नु पर्छ । दलले जनतालाई चिन्नुको अर्थ जनताले भोगिरहेका धरातलीय यथार्थको सही रूपमा बोध गर्नु हो । जनताले भोगिरहेका धरातलीय यथार्थको वस्तुगत बोध गरेपछि नै कुनै पनि जनहितप्रति लक्षित दलले जनताको वस्तुगत प्रतिनिधित्व गर्न आवश्यक वैचारिक खुराक प्राप्त गर्छ । यस अर्थमा कुनै पनि लोकतान्त्रिक दलको सबभन्दा ठुलो विश्वविद्यालय जनता हो, जसको विविधताबाट अथाह ज्ञानको निर्माण हुन्छ । आमजनताको पीडाबोधलाई दलको नेतृत्व पङ्क्तिको अवचेतन मनले ग्रहण गरेको हुनु पर्छ । जनताले राजनीतिक दललाई चिन्नु भनेको शास्त्रको आधारमा होइन, भोगाइका आधारमा मूल्याङ्कन र मार्गदर्शन गर्नु हो ।
अवचेतन मनमा ग्रहण गरिएको जनताको पीडा र पीडाका स्रोत, असर र समाधानसम्बन्धी विश्लेषणका आधारमा सही नीति र कार्यान्वयनको भरपर्दो कार्यदिशा तयार गर्न सम्भव हुन्छ । रूपान्तरणमुखी चिन्तनको विकास गर्दै सामाजिक न्यायप्रति समर्पित राजनीतिक अभ्यासको संस्कृतिलाई अगाडि बढाउने हो भने अधिकांश अवाञ्छित परिणाम ल्याउने सङ्कटको पहिले नै रोकथाम हुन्छ । यस अर्थमा, जनताले भोगिरहेको सङ्कट मिहिन र गहन ढङ्गले बुझेर उनीहरूका राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक अवस्थामा गुणात्मक परिवर्तन ल्याउने रणनीतिसहित काम गर्ने दल मात्र कार्यसम्पादनका हिसाबले उत्कृष्ट जनपक्षीय दल ठहर्ने छ । दल एउटा जुवाडे जस्तो नभई सरकार र राज्य संयन्त्रलाई मनग्ये नीतिगत अन्तर्दृष्टि र कार्य क्षमता आपूर्ति गर्ने मस्तिष्क बन्न सक्नु पर्छ । यसका लागि नै दल चाहिने हो । लाखौँ मस्तिष्क र हातहरूले मुलुकलाई अग्रगतिमा लग्नुपर्ने हुन्छ । गलत दिशामा सङ्गठन जाँदा भने अनपेक्षित परिणाम आउने निश्चित नै हुन्छ ।
नचुँडिने र नधुज्जिने कसिलो, सङ्गठित र चिन्तनयुक्त दल बन्दै गर्दा त्यसको जनतासँगको सम्बन्ध अधिक महत्वको हुन्छ । जनतासँग दलले कुन दृष्टिकोणले सम्बन्ध राख्छ सोही अनुसारको परिणाम आउने गर्छ । जस्तै सत्तामा जाने तर जनताको जीवनमा राजनीतिक संस्कृतिको निर्माण र आर्थिक, नैतिक तथा सामाजिक रूपान्तरणबाट विमुख भएर दल क्रियाशील भएको खण्डमा लोकतन्त्रकै बारेमा आम मानसपटल दिग्भ्रमित बन्न पुग्छ । परिणामतः सम्बन्धित दलप्रतिको जनआस्था ह्रासोन्मुख बन्दै जान्छ ।
लोकतन्त्र भर्सेज व्यक्तितन्त्र
समाजमा विविध शक्ति क्रियाशील हुन्छन्, औपचारिक वा अनौपचारिक तवरमा । जनतालाई मानवीय आत्मसम्मानको अनुभूति दिलाउनु लोकतन्त्रको दायित्व हो । मानव अधिकारको कार्यान्वयनबिना त्यो सम्भव हुन्न । यस सन्दर्भमा, प्रगतिशील संविधान, कानुन र नीति कार्यान्वयनद्वारा जनताको धरातलीय जीवनमा कसरी गुणात्मक रूपान्तरण ल्याउन सकिन्छ भन्ने विषयले दलगत चिन्तनमा पर्याप्त ठाउँ पाएको छ भने मात्र त्यस्तो दल लोकतान्त्रिक ठहर्छ । दल व्यक्तिको चङ्गुलमा फँसेको अवस्थामा भने उन्नत लोकतन्त्रको बहस किचिन्छ । जनजीवन रूपान्तरण गर्न सृजित संरचनामा विविध निजी स्वार्थप्रेरित वृत्तहरूको तीव्र रूपमा प्रभाव बढिरहेको छ । लोकतन्त्रका निम्ति लामो समय लडेका दलभित्र व्यक्तितन्त्रलाई निस्तेज पार्नु आवश्यक छ । नत्र सत्ताको पङ्खेजोरी चलिरहँदा व्यक्तितन्त्रको बुई चढी मुलुकको स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सामाजिक सद्भावविरुद्ध समेत षड्यन्त्र गरिन सक्छ ।
देशमा व्याप्त भ्रष्टाचारले उत्पादन गरेका परिणाम र विकृति हामीले भोग्यौँ र अब नेपाली समाजको समग्र अवस्थामा द्रुत गतिमा न्यायोचित परिवर्तन ल्याउन हामी पछिल्ला पुस्ताले पनि सक्रिय भूमिका निर्वाह गर्न चाहन्छौँ भन्ने प्रस्ट सन्देश जेनजी विद्रोहले दिएको छ । यस वस्तुगत तथ्यलाई बेवास्ता गरेर अबको राजनीतिक यात्रा सन्तुलित रूपमा अगाडि बढ्न सक्दैन । आखिर सबै दलमा प्रताडित जेनजी पुस्ता छन् भन्ने स्वयंसिद्ध सत्य हो । सबै दलले लामो समयदेखि जेनजी पुस्तालाई राजनीतिक प्रयोजनका निम्ति परिचालन गर्दै आइरहेको पनि हुन् । पीडित त ११–१२ पढ्दा पढ्दै खाडी मुलुकतिर हानिन विवश जेनजी पुस्ताका युवा मात्रै होइनन् नि । लोकतन्त्र र सामाजिक न्यायका निम्ति लडेर असीमित हण्डर खेपेका सबै वर्ग र समुदायका शोषितपीडित जनसमुदाय अहिले कान्लामुनिको भ्यागुताकै अवस्थामै छन् । यहाँ स्वयम् लोकतन्त्रका निम्ति लामो इतिहास खडा गरेका दलभित्र पनि बारम्बार आन्तरिक लोकतन्त्रको प्रश्न उठ्ने गरेको छ । लोकतन्त्र व्यक्तिको पकड र इच्छामा चल्ने विषय होइन भन्ने दलभित्र सधैँ उठ्ने गरेकै हो ।
अघोषित व्यक्तितन्त्र दलको स्तरमा मात्र होइन राज्यका अवयवमा पनि समस्याका रूपमा विद्यमान छ । प्रश्न उठ्दा कानुन, प्रणाली र पद्धति देखाउने गरिन्छ । काम गर्दा भने व्यक्तितन्त्रले कानुन, प्रणाली र पद्धतिलाई निरीह बनाइदिन्छ । यो समस्या देशव्यापी झाँगिएको कारणले जनहितविपरीतको धार अग्रपङ्क्तिमा बढ्दै जाँदा निस्किएका कुपरिणामबाट आम मानसपटल विस्फोटक बनेको हो । राज्यका अवयवमा व्यक्तितन्त्रको धारलाई निस्तेज पारी उन्नत लोकतन्त्रको धारलाई अगाडि बढाउने हो भने प्रत्येक दलले जोडदार रूपमा आन्तरिक लोकतन्त्रको अभ्यासलाई अपनाउनु आवश्यक छ । आन्तरिक लोकतन्त्रको अभ्यास नीतिमुखी, नतिजामुखी र मुद्दा–केन्द्रित हुनु पर्छ । अहिलेसम्म व्यक्ति व्यवस्थापनलाई उच्च प्राथमिकता दिने गरिएकाले व्यक्तितन्त्र फस्टाएको हो । जतिखेर पनि ‘को’ मा केन्द्रित हुँदा ‘के’, ‘कसरी’ र ‘किन’ भन्ने प्रश्नमा चिन्तन गर्ने लोकतान्त्रिक धार दलभित्र पछाडि परेको हो । दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यासको परिपाटी बस्दै जाँदा र त्यो धारलाई सही मार्गदर्शन भएमा देशका लागि आवश्यक पर्ने नयाँ प्रतिभा उजागर मात्र हुने छैनन्, सकारात्मक तथा तीव्र प्रतिस्पर्धाको वातावरण पनि बन्ने छ । फलतः मेरिटमा आधारित उन्नत लोकतन्त्रको धारले नेतृत्व प्राप्त गर्न सहज हुन्छ । अहिले नेपाललाई चाहिएको यही हो । हालसालैको जेनजी विद्रोहले सङ्केत गरेको पनि यही हो । जेनजी विद्रोह व्यक्तितन्त्रको विरुद्ध थियो । व्यक्तितन्त्रले भ्रष्टाचारलाई सर्वस्वीकार्य प्रतियोगिताका रूपमा अघि बढाइदियो । जेनजी विद्रोहको सार भन्नु नै उन्नत लोकतन्त्रको धारको आवश्यकता बोध गराउनु थियो । सामाजिक विभेद र वर्गीय खाडलका कारण नेपाली समाज मनोबनोटको विकास र राजनीतिक संस्कृतिका दृष्टिले पनि धेरै पछाडि छ ।
समानता र सामाजिक न्यायको भरपर्दो वातावरण निर्माण गर्न राज्यका तर्फबाट सबै नेपालीका लागि नैसर्गिक मानव अधिकारका रूपमा शिक्षा र स्वास्थ्यको प्रत्याभूत गर्नु उन्नत लोकतन्त्रको धार समातेको पहिलो प्रमाण हुने छ । ‘शिक्षा सर्वाधिक शक्तिशाली अस्त्र हो, जसलाई तपाईं संसार बदल्न प्रयोग गर्न सक्नुहुन्छ’ भन्ने नेल्सन मन्डेलाको भनाइलाई यहाँ स्मरण गर्न सकिन्छ । नागरिकलाई सोच्ने, खोज्ने र रोज्ने स्व–सशक्तीकरणको क्षमता प्रदान गर्नु राज्यले गर्नुपर्ने लोकतान्त्रिक परिपोषणको कर्तव्यभित्र पर्छ । नागरिकको मेरुदण्ड नै बलियो छैन भने देश कसरी बलियो हुन्छ ? नागरिकलाई विदेशको प्रवासी श्रमिक र बजारको उपभोक्ता मात्र बनाउनु हुन्न भन्ने चेत हामीमा खुल्नै पर्छ । इतिहास जो थियो, सो थियो । वर्तमान जो छ, यसमा ध्यान खिच्नु अपरिहार्य छ । इतिहासको विरासतलाई मात्र मूल्याङ्कनको आधार बनाउनु पर्याप्त हुँदैन । वर्तमानको कार्यसम्पादन र प्राप्त नतिजालाई मुख्य वस्तुगत आधार बनाएर राजनीतिक समीक्षा गर्नु बुद्धिमान हुन्छ ।
अन्त्यमा हाम्रा दलहरूको इतिहास गौरवपूर्ण नै छ । उनीहरूले विभिन्न कालखण्डमा लोकतान्त्रिक सङ्घर्षको कष्टपूर्ण नेतृत्व प्रदान गरे । इतिहासबाट सिक्ने हो, त्यसको सदावहार ब्याजस्वरूप सधैँ निषेधको आत्मकेन्द्रित राजनीति र सत्ताको कुलतमा डुब्ने हो भने लोकतन्त्र पोखरीमा जमेको फोहोर पानी जस्तो बन्छ । लोकतन्त्र गतिशील र अद्यावधिक प्रक्रिया हो । यो प्रणालीद्वारा सञ्चालित हुनु पर्छ, व्यक्तिको प्रतिक्रिया र ‘सेन्टिमेन्ट’ बाट होइन । प्रत्येक दलले आफ्नो विधानको वैज्ञानिक संशोधन गरी डिजिटल युगका ऊर्जावान् युवालाई उचित राजनीतिक स्थान दिनु अपरिहार्य भएको छ । त्यसपछि नै उन्नत लोकतन्त्रको धार नेपालमा तीव्र बन्ने छ, किनभने उन्नत लोकतन्त्रमा मात्र मानसिक दासत्वबाट मुक्त भएर नागरिकले स्वतन्त्र निर्णय लिने क्षमताको विकास गर्न सक्छ ।