- गौरवमय इतिहास बोकेको नेपाल बैङ्क २०२० मा वाणिज्य बैङ्क कानुन लागु हुनुभन्दा अगाडि झन्डै २६ वर्षसम्म आफ्नै नामको नेपाल बैङ्क कानुनबाट सञ्चालित थियो ।
- बैङ्कले नयाँ व्यावसायिक स्थानमा शाखा स्थापना, एटिएम र एक्सचेन्ज काउन्टरको विस्तार, विगतमा बन्द गरिएका स्थानमा शाखाको पुनस्र्थापनाबाट बैङ्किङ सञ्जाल विस्तार गरेको छ ।
- तीन चार पुस्ता अगाडि देखिनका उद्यमी, व्यवसायी र ग्राहक वर्ग र तिनका परिवारजनले बैङ्कप्रति अपार माया देखाएको छ ।
नेपाल बैङ्क लिमिटेडको स्थापना मुलुकको अर्थतन्त्रको विकासमा ऐतिहासिक परिघटना थियो । आधुनिक वाणिज्य बैङ्क र केन्द्रीय बैङ्कसमेत स्थापना नभएको बेला नेपाल बैङ्कको स्थापनाबाट मुलुकमा उद्योग, वाणिज्य क्षेत्रका गतिविधि अगाडि बढाउन मद्दत पुगेको थियो । बैङ्कले नेपाली रुपियाँको चलनचल्तीमा ल्याउने कामका साथै केन्द्रीय बैङ्कले गर्ने सम्पूर्ण काम गरेर सरकारी कारोबारलाई संस्थागत तवरले भुक्तानी गर्न तथा राजस्व सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । नेपाल बैङ्कले पहिलो पटक विदेशस्थित बैङ्कसँग एजेन्सी कारोबारको सम्बन्ध कायम गरेपछि एलसी कारोबारबाट मालसामान आयात निर्यात गर्न सुरु भयो । नेपाली जनतामा बैङ्किङ आदतको सुरु गराउन, जनताका बिचमा छरिएर रहेको बचत रकमलाई निक्षेपका रूपमा सङ्कलन गर्ने कार्यको शुभारम्भ भयो । अर्थतन्त्रका क्षेत्रमा आवश्यक पर्ने रकमलाई कर्जा प्रवाह गरेर निक्षेप कर्ता र ऋणीहरूका बिचमा बैङ्कले मध्यस्थकारी भूमिका निर्वाह ग¥यो । विभिन्न शाखाका माध्यमबाट देश तथा विदेशमा रेमिट्यान्सका माध्यमबाट रकम पठाउने कार्यको सुरु पनि नेपाल बैङ्कले गरेको हो ।
गौरवमय इतिहास बोकेको नेपाल बैङ्क २०२० मा वाणिज्य बैङ्क कानुन लागु हुनुभन्दा अगाडि झन्डै २६ वर्षसम्म आफ्नै नामको नेपाल बैङ्क कानुनबाट सञ्चालित थियो । झन्डै दुई दशकसम्म केन्द्रीय बैङ्कको भूमिकाका साथ एकल ढङ्गले वित्तीय बजारमा वाणिज्य बैङ्कको हैसियतले भूमिका निर्वाह ग¥यो । विसं २०२२ मा सरकारी स्वामित्वमा राष्ट्रिय वाणिज्य बैङ्क स्थापना भएपछि मात्रै प्रतिस्पर्धात्मक वातावरण सिर्जना भयो । झन्डै दुई दशकसम्म यी दुई वटा सरकारी स्वामित्वका बैङ्कको मात्रै वित्तीय बजारमा भूमिका रहे पनि ४० को दशकसम्म नेपाल बैङ्कले नै अग्रणी बैङ्कको भूमिका निर्वाह गरेको थियो । पञ्चायतीकालमा प्रति ३० हजार जनसङ्ख्यामा एक बैङ्क शाखा पु¥याउने सरकारले लिएको लक्ष्यलाई सहयोग पु¥याउन बैङ्कले देशका दुर्गम विकट भेगसम्म शाखा सञ्चालन गरेर जनतालाई सेवा पु¥याउने काम ग¥यो ।
४० को दशकदेखि वित्तीय उदारीकरणको नीति अवलम्बन गरिएपछि मुलुकमा विदेशी संयुक्त तथा निजी लगानीमा वाणिज्य बैङ्क धमाधम खुल्न थाले । बैङ्किङ प्रणालीमा विकास भएको आधुनिक प्रविधि र सक्षम युवा जनशक्तिबाट निजी क्षेत्रका बैङ्क सञ्चालन हुन थालेपछि परम्परागत शैलीमा सञ्चालन भइरहेको बैङ्कका सामु प्रतिस्पर्धामा खरो रूपमा उत्रनुपर्ने चुनौती थपियो । सरकारी स्वामित्वको बैङ्क भएपछि बढ्दो सरकारी हस्तक्षेपले बैङ्कको व्यावसायिक क्षमता कमजोर बन्यो । सरकारले बैङ्कको पनि निजीकरण गर्ने नीति ल्याएपछि सरकारको बैङ्कमा रहेको ६० प्रतिशत सेयरमध्ये कर्मचारी तथा निजी क्षेत्रमा बिक्री वितरण गर्न थाल्यो । त्यसपछि बैङ्कको नीति निर्माणको तहमा निजी क्षेत्रको वर्चस्व पुनः वृद्धि भयो । सँगसँगै बैङ्कमा बढेको अत्यधिक राजनीतिक हस्तक्षेपले समस्या ग्रस्त बनेको बैङ्कलाई केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कहरूका लागि वित्तीय एवं व्यवस्थापकीय सुधार र सुशासनका लागि लागु गरेको नियमनकारी व्यवस्था, ऐन कानुनमा भएको सुधारका आधारमा लागु गरेको सुधार कार्यक्रमपछि बैङ्कले गति लिन थाल्यो ।
खास गरी बैङ्कमा अन्तर्राष्ट्रियस्तरको लेखामान र लेखापरीक्षणको थालनी, भाखा नाघेको ऋणको असुलीमा कडाइ, बैङ्कमा नयाँ जनशक्तिको पदार्पण र व्यावसायिक क्षेत्रमा मात्रै लगानीको थालनीले बैङ्कको सुधारले गति लियो । बैङ्कमा विदेशी व्यवस्थापनको बहिर्गमनपछि केही समय केन्द्रीय बैङ्कले नै व्यवस्थापन सञ्चालन गरेर बैङ्कलाई नै व्यवस्थापन सञ्चालन गर्ने जिम्मेवारी सुम्पियो । बैङ्कमा नयाँ सञ्चालक समितिको गठन र उच्च व्यवस्थापनमा नयाँ जनशक्तिको पदार्पणपछि बैङ्कले निकै सुधार गरेको छ । झन्डै २० वर्षसम्म बैङ्कको साधारणसभा हुन नसकेको, सेयरहोल्डर, कर्मचारीले लाभांश प्राप्त गर्न नसकेको स्थितिमा बैङ्क व्यावसायिक हिसाबले सञ्चालन भई मुनाफामा सञ्चालन हुन थालेपछि नियमित साधारण सभा गरेर बैङ्कका सेयरहोल्डर, ग्राहक र कर्मचारीका माझ हिजो बैङ्कले हासिल गरेको साख र विश्वास झन् बढेर गएको छ ।
बैङ्कले नयाँ व्यावसायिक स्थानमा शाखा स्थापना, एटिएम र एक्सचेन्ज काउन्टरको विस्तार, विगतमा बन्द गरिएका स्थानमा शाखाको पुनस्र्थापनाबाट बैङ्किङ सञ्जाल विस्तार गरेको छ । आधुनिक बैङ्किङ प्रविधिको प्रयोग र डिजिटलाइजेसनका माध्यमबाट ग्राहक वर्गलाई छिटो छरितो सेवा प्रवाहले गर्दा देशको जेठो एवं पुरानो र समस्याग्रस्त बैङ्कबाट तङ्ग्रिएर आधुनिक, सक्षम र प्रतिस्पर्धात्मक स्थितिमा अग्रणी बैङ्कको भूमिकामा छ ।
नेपाल बैङ्कको गौरवपूर्ण इतिहास छ । तीन चार पुस्ता अगाडि देखिनका उद्यमी, व्यवसायी र ग्राहक वर्ग र तिनका परिवारजनले बैङ्कप्रति अपार माया देखाएको छ । यही विश्वासबाट बैङ्कले हासिल गरेको ख्याति, बलियो पुंजीको आधार, बैङ्कको अर्बौं अर्ब रकम बराबरको चल अचल सम्पत्ति, राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्ध तथा सरकारी स्वामित्वसमेत बैङ्कमा रहेका कारण प्रतिस्पर्धात्मक स्थितिमा पनि बैङ्कले अग्रगति लिन सक्ने प्रचुर सम्भावना छ ।
यति बेला बैङ्किङ क्षेत्रले अनेकन चुनौतीको सामना गरिरहेको छ । विश्वव्यापी बढेको आर्थिक सङ्कट, युद्ध, द्वन्द्वको स्थिति, मुलुकको राजनीतिक अस्थिरता, बाढीपहिरो र विपत्का घटना आदिले आर्थिक गतिविधिमा गिरावट आउनका साथै थप समस्या उत्पन्न गर्ने भयावह अवस्था कायमै छ । रेमिट्यान्स आप्रवाहमा कमी, विदेशी मुद्राको प्रतिफलमुखी ढङ्गबाट परिचालनमा देखिएको समस्या, उच्च तरलता, आयात–निर्यात व्यापारमा गिरावट र बढदो खराब कर्जा आदि कारणले थप समस्या उत्पन्न गर्दै छ । बैङ्कमा सक्षम, अनुभवी जनशक्तिको पदार्पण गराउने र उनीहरूको सशक्तीकरण र बैङ्कमा दिगो रूपमा टिकाइ राख्ने आकर्षक उत्प्रेरणाका योजना, आधिकारिक ट्रेड युनियनको निर्वाचन गरेर युनियन–व्यवस्थापन बिच सुमधुर सम्बन्ध कायम गर्नु पर्छ । निक्षेप सङ्कलन र उत्पादनशील एवं रोजगारी वृद्धि हुने क्षेत्रमा कर्जा विस्तार गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने राष्ट्रिय अभिभारा पूरा गर्न बैङ्कले थप रणनीतिक योजना बनाउन जरुरी छ । यसो हुन सक्यो भने बैङ्कलाई सक्षम, प्रतिस्पर्धी र अग्रणी बैङ्कको रूपमा स्थापित गर्न सकिने छ ।