• १३ साउन २०८१, आइतबार

‘पाल्पा नै हो ढाकाको राजधानी’

blog

फायल तस्बिर

बिन्दु थापा 

तानसेन, असार २१ गते । पाल्पालाई देशकै ढाकाको एकमात्र राजधानी बनाउनुपर्ने पाल्पाका स्थानीयबासीले जोड दिएका छन् । 

लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्र्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गर्नुभएको थियो । 

पाल्पा भन्नसाथ ढाका कपडा र करुवाले चिनिने भएका कारण पाल्पाको महत्व र पहिचान  बढ्दै गएको छ यो पहिचान र इतिहास कसैले मेटाउन सक्दैन तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा गाहा सिंजालीले भनुभयो ।

२०५५ सालसम्म टोपी र चोलोमा सीमित पाल्पाली ढाकाले बच्चादेखि वृद्धवृद्धासम्मको मन जितेको छ । स्वदेश र विदेशमा पाल्पाली ढाकाको चर्चा पपरिचर्चा भएको कारण अन्य जिल्लाले पाल्पाको उत्पादनलाई लगेर बिक्रि वितरण गर्दा त्यो जिल्लाको गरीमा बढ्ने छ सिंजालीले बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले इतिहास बिर्सेर सामाजिक संजालमा तस्बिर राख्दैमा पाल्पाली ढाकाको पहिचान नगुम्ने बताउँदै उहाँले भन्नुभयो, ‘‘पाल्पामा ढाका टोपी र चोलो उत्पादन हुँदा काठमाडौमा बंगलादेशको राजधानी ढाकाबाट ढाका बुट्टेदार कपडा आउँथ्यो ।’’ 

सोही कपडाको टोपी बनाई धनी साहुमहाजनले लगाउने प्रचलन चलेको थियो ।  सोही समयमा एउटा टोपीको मूल्य १० रुपियाँदेखि २५ रुपियाँसम्म पर्दथ्यो । 

टोपीको मूल््य महँगो भएका कारण सर्वसाधारणको पहुँचमा थिएन । ढाकाको जस्तै बुट्टा भएको कपडा पाल्पाको स्वदेशी वस्त्रालयमा पनि उत्पादन हुने थालेपछि पाल्पाको कपडालाई आम रूपमा पाल्पाली ढाका भन्न थालिएको होे । 

२०१५ सालदेखि सुरु भएको पाल्पाली ढाका कपडा उद्योगले अहिले राष्ट्रिय गहनाका रूपमा पहिचान बनाएकाले पाल्पालाई ढाकाको राजधानी गराउनुपर्ने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताउनुभयो । 

ढाका उत्पादनले परिचित बनेको पाल्पालाई २०७८ चैत १२ गते ढाकाको राजधानी घोषणा गरिएको हो । २०७९ असार २० गते ढाकाको राजधानी तेह्रथुम घोषणा गरिएको समाचार सामाजिक संजालमा आएसँगै  पाल्पा उद्योग वाणिज्य संघको ध्यान केन्द्रित भएको र पाल्पालाई नै ढाकाको राजधानी गराउनुपर्नेमा दुईमत नरहेको पाल्पा उद्योग वाणिज्य संघ पाल्पाका महासचिव शैलेन्द्र भट्टराईले बताउनुभयो । 

ढाका सङ्घका अध्यक्ष पूर्णमाया महर्जनका श्रीमान स्व गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय सुरु भएको थियो । 

अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको पूर्णमाया मर्हजनले बताउनुभयो । स्व गणेशमानले सुरु गरेको व्यवसाय अहिले पनि निरन्तर चलिरहेको छ । 

पाल्पामा पूर्वबाट पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गर्दछन् । पाल्पाली ढाकाबाट साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी ५० बढी थरिका सामान उत्पादन हुने गर्दछ ।  पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । 

पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । 

कार्की ढाका उद्योग, सरस्वती ढाका कपडा, पौडेल ढाका कपडा उद्योग,  नेपाल कपडा उद्योग, बाँस्टारी ढाका कपडा उद्योग, मंगलचन्द ढाका कपडा उद्योगलगायतका उद्योग सञ्चालनमा छन् ।