- हैजा भिव्रियो कालेरी ब्याक्टेरियाद्वारा आन्द्राको सङ्क्रमणले उत्पन्न हुने झाडापखालासम्बन्धी गम्भीर रोग हो ।
- रोग प्रतिरोधात्मक क्षमता कम भएका कुपोषित, बालबालिका, एचआइभी सङ्क्रमित, दीर्घरागी, अङ्ग प्रत्यारोपण गरेका व्यक्तिमा हैजा लागेमा मृत्युको खतरा बढी हुन्छ ।
- रोगीको मलमूत्रलाई पानीको मुहान नजिक वा जथाभाबी नफाली खाल्डोभित्र पुर्नु पर्छ । भाडाकुडा उपयोग अघि उमालेको पानीले सफा गर्नुस् । लुगाफाटा पनि उमालेको पानीले पखाल्नुस् ।
- खानेकुरालाई झिँगाबाट बचाउनु पर्छ । झिँगा लागेको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खाद्य पदार्थ खानु हुँदैन ।
त्यसो त वीरगन्ज–१२ को मुर्ली टोलमा साउन २८ देखि नै फाटफुट झाडापखालाका बिरामी देखिए पनि भदौ ५ मा हैजाको पुष्टि भएको र एक साता केस थपिँदै प्रकोप फैलिएको थियो । हालसम्म दुई हजार बढी जनामा शङ्कास्पद हैजाका र स्याम्पलिङ आरडिटी तथा प्रयोगशाला कल्चर परीक्षणमा दुई सय बढीमा हैजा पुष्टि भइसकेको छ । छिमेकी पालिका र जिल्लामा पनि सङ्क्रमण फैलिएको थियो । राजविराजमा पनि दुई जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ भनेको एक महिनापछि सदाटोलमा पुष्टि भएको छ । परीक्षण नै नगरिएका पनि त्यत्तिकै धेरै हुन सक्छन् ।
विश्वभरि देखिने हैजाका कुल बिरामीमध्ये करिब १० प्रतिशत मात्र रिपोर्टिङ हुन्छन् । सन् २०२५ को सुरुदेखि हालसम्म नेपालसहित ३१ देशमा हैजा फैलिइसकेको छ । सन् २०२४ को तुलनामा सङ्क्रमण पाँच प्रतिशतले र मृत्यु ५० प्रतिशतले बढेको छ । खोप दुई मात्रामा अस्थायी रूपमा एक मात्रा लगाउँदा पनि माग छ करोड १० लाखमा स्वीकृत चार करोड मात्र भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
कारक र कारण
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार जहाँ मलमूत्रको सफाइ र खानेपानीको समुचित व्यवस्था हुँदैन, त्यहाँ तीव्र गतिमा सङ्क्रमित व्यक्तिको दिसाबाट झाडापखाला, हैजा जस्ता दर्जनौँ सङ्क्रामक रोग फैलिन्छन् । विश्वमा चारमध्ये एक जना अर्थात् दुई अर्ब बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीबाट वञ्चित रहेको सयुक्त राष्ट्रसङ्घ र युनिसेफले चेतावनी दिँदै सन् २०३० सम्ममा सबैका लागि सुरक्षित पानी र सरसफाइ उपलब्ध गराउने लक्ष्य अझै टाढिँदै गएको बताएका छन् । एक दशकमा छ करोड १० लाखले घटे पनि अझै १० करोड ६० लाख मानिस सतहकै पानीमै निर्भर रहेकाले रोगको उच्च जोखिममा पारेको छ ।
सतहको पानी प्रयोगलाई पुर्ण रूपमा हटाउने देश सन् २०१५ मा १४२ थिए भने सन् २०२५ मा १५४ पुगेको छ । पानीको पहुँच सन् २०१५ देखि हालसम्म ९६ करोड १० लाख बढी अर्थात् ६८ प्रतिशतबाट बढेर ७४ प्रतिशत पुगेको छ । तथापि अझै पनि दुई अर्ब १० करोड मानिस सुरक्षित रूपमा व्यवस्थित पिउने पानीबिनै बाँचिरहेका छन् । सबैका लागि आधारभूत पिउने पानी उपलब्ध गराउने देश ८९, सुरक्षित रूपमा व्यवस्थित गर्ने देश ३१ र २८ देश आधारभूत सेवाबाट वञ्चित छन् ।
सुरक्षित सरसफाइ साझा नभएको सुविधा र त्यहाँ उत्पादन भएको मल सुरक्षित रूपमा नष्ट वा प्रशोधन गरिएको अवस्थाको क्षेत्रमा समेत सन् २०१५ देखि हालसम्म एक अर्ब २० करोड अर्थात् ४८ प्रतिशतबाट ५८ प्रतिशत मानिसमा पहुँच बढेको छ । सन् २०१५ को तुलनामा सन २०२४ मा ४२ करोड ९० लाखले कम भई ३५ करोड ४० लाख अर्थात् विश्व जनसङ्ख्याको चार प्रतिशतमा झरेको छ । आधारभूत स्वच्छता सेवामा पनि एक अर्ब ६० करोड मानिस थपिएका छन् भने घरमै साबुनपानीसहित हात धुने सुविधा पाउनेको दर ६.६ प्रतिशतबाट बढेर ८० प्रतिशत भएको तथ्याङ्क छ तर सङ्क्रमणमा बढोत्तरी छ ।
पछिल्लो समय प्राकृतिक र पहिलेदेखि प्रयोग भइरहेका खानेपानीका मुहान र स्रोत सुक्दै गएका छन, पानीका लागि बाह्य र अपरिचित स्रोतसँगको निर्भरता बढेको छ । जसले सङ्व्रmमित खानेपानीसँगको सम्पर्क बढाउने भएको छ ।
लक्षण तथा चिह्न
हैजा भिव्रियो कालेरी ब्याक्टेरियाद्वारा आन्द्राको सङ्क्रमणले उत्पन्न हुने झाडापखालासम्बन्धी गम्भीर रोग हो । सङ्क्रमित आहार र पानीले यसको जिवाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ र आन्द्रामा तीव्र गतिले आक्रमण गर्छ । आन्द्राको कोशीकाबाट बढी मात्रामा पानी निस्कन थाल्छ र चौलानी पानी जस्तै दिसा हुन थाल्छ ।
सङ्क्रमण भएको २४ घण्टादेखि पाँच दिनसम्म लक्षण सुरु हुन्छ । लक्षण देखिएको तीनदेखि छ घण्टामा समेत हैजाले घातक रूप लिन सक्छ, रक्तचाप कम हुन्छ र रोगी गम्भीर रूपले अचेत अवस्थामा पुग्छ । बिरामीलाई साह्रै पातलो दिसा लाग्छ, वान्ता हुन्छ, कमजोरीले खुट्टा काम्छ, शरीरमा तरल पदार्थ तीव्र गतिले कमी हुन्छ । हैजाबाट सङ्क्रमित प्रत्येक २० जनामध्ये एक जनालाई यसले निकै सिकिस्त बनाउँछ । स्वस्थ वयस्कलाई पनि उचित उपचार नहुँदा शरीरमा पानीको कमी भएर मिर्गौलाले काम गर्न छोडेर केही घण्टामै रोगीको मृत्यु हुन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठनका तथ्यपत्र अनुसार करिब ७५ प्रतिशत हैजा सङ्क्रमितलाई भने कुनै लक्षण देखिँदैन तर उनीहरूको दिसामा भने ७ देखि १४ दिनसम्म जीवाणु देखिन्छ । यसले नै अन्य स्वस्थ व्यक्तिमा अस्वस्थ आनीबानी तथा फोहोरी वातावरणबाट सारिरहेको हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका कुपोषित, बालबालिका, एचआइभी सङ्क्रमित, दीर्घरागी, अङ्ग प्रत्यारोपण गरेका व्यक्तिमा हैजा लागेमा मृत्युको खतरा बढी हुन्छ । हैजाको लक्षण देखिएका वा विकसित भएकामा ८० प्रतिशत रोगीलाई भने सामान्य झाडापखाला हुने गरेको पाइन्छ । बाँकी २० प्रतिशतमा भने शरीरमा बढी पानी कम हुनुका साथै कडा झाडापखाला लाग्ने गर्छ र उपचार नपाए यसमा ५० प्रतिशत मृत्युदर हुन्छ ।
उपचार
हैजाको उपचार करिब ८० प्रतिशतमा ओआरएस वा जीवन जल, नुन चिनी पानीद्वारा गरिन्छ । बान्ता पनि भए र गम्भीर अवस्थामा भने यो नसाद्वारा दिइन्छ । प्रतिजैविक औषधीले गम्भीर हुनबाट रोक्छ । उपचार नगरिए यस्ता दुई बिरामीमध्ये एकको मृत्यु हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार उपयुक्त र उचित उपचार गरे हैजाको मृत्युदर एक प्रतिशत भन्दा कम छ ।
बच्ने उपाय
हैजा रोगीलाई छुट्टै कोठामा राखेर हेरचाह गरौँ जाजरकोटमा जस्तो ओडारमा वा घरमा थुनेर बाँकी सबैले घर छोड्ने काम नगरौँ । रोगीको मलमूत्रलाई पानीको मुहान नजिक वा जथाभाबी नफाली खाल्डोभित्र पुर्नु पर्छ । भाडाकुडा उपयोग अघि उमालेको पानीले सफा गर्नुस् । लुगाफाटा पनि उमालेको पानीले पखाल्नुस् ।
खानेकुरालाई झिँगाबाट बचाउनु पर्छ । झिँगा लागेको, बासी, सडेगलेका, नपाकेका, चिसिएको खाद्य पदार्थ खानु हुँदैन । विश्व स्वास्थ्य सङ्गठन अनुसार फोहोर छोएपछि, दिसा गरिसकेपछि, खानेकुरा पकाउँदा तथा खाना, खाँदा साबुनपानीले राम्ररी हात धोएमा झाडापखाला हुने दरलाई आधा गर्न सकिन्छ । सरसफाइ कमी छ, कुपोषण छ र शारीरिक शक्ति कमजोर भएर ससाना रोगले भेट्दा पनि रोगसँग लड्ने क्षमता नभएर मृत्यु हुने गर्छ । खाना घरमै राम्ररी पकाएको खानु पर्छ । सलाद नखाए वेश हुन्छ । बजारको बरफ, आइसक्रिम तथा दुग्धजन्य पदार्थ नखानुस् । सडक छेउ, होटल, रेस्टुरेन्टको खाद्य पदार्थ नखानुस् । हात धुने, प्रयोग गर्ने तथा खाने पानी कम्तीमा पाँच मिनेटसम्म उमाल्नुस् वा कलोरिन चक्कीले सङ्क्रमणमुक्त बनाउनुस् । हरेक पटक सफा तौलिया उपयोग गर्नुस् । दाँत माझ्दासमेत उमालेर चिसो भएको पानी प्रयोग गर्नुस् ।
अन्त्यमा पानी, सरसफाइ र स्वच्छता विशेषाधिकार होइन, ती आधारभूत मानव अधिकार हुन् । शुद्ध खाना, खानेपानी, पर्याप्त सरसफाइ, व्यक्तिगत स्वच्छता हैजाबाट बचाउ गर्न सकिने उपाय हुन् । हैजाबाट बच्ने प्रभावकारी उपाय भनेकै शुद्ध ताजा खाना र पानीको उपयोग तथा पर्याप्त व्यक्तिगत सरसफाइ हो । जसका लागि स्वास्थ्यसम्बन्धी जनचेतना र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी र अनिवार्य सर्त हो ।