नवराज श्रेष्ठ
रामेछाप, असार २१ गते। रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।
उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइका तीन जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो। 
सुनापति गाउँपालिका बेथानबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो। 
दुर्घटनामा परी २६ जना घाइते भएका थिए। दुर्घटनमा परी गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं र २३ जनालाई धुलिखेल अस्पताल काभ्रे पठाइएको थियो।ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ ।

मृतकमध्ये नौ जनाको सनाखत
दुर्घटनामा सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका  ६० वर्षीय ठुला तामाङ, ३६ वर्षीय खड्कबहादुर बिक, २२ वर्षीया विपना तामाङ, ३६ वर्षीया सञ्जु तामाङको मृत्यु भएको रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो। 
त्यसैगरी सुनापतिगाउँपालिका वडा नम्बर ४ का २६ वर्षीया सम्रिता तामाङ, काभ्रेको पाँचखाल ८ का १८ वर्षीय सुदिप गजमेर, काभ्रे मन्डनदेउपुर नगरपालिका–९ का ६० वर्षीया सुभलक्ष्मी मानन्धर, काभ्रेका ४० वर्षीय कुलबहादुर बिक र काभ्रे रोशी गाउँपालिका–४ का कमल तामाङको सनाखत भएको हो। 
अन्य तीन जनाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ।

 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                